औपचारिक क्षेत्रसंग जोडिदैछ स्वास्थ्य बीमाः स्वास्थ्य मन्त्री सारु

देउखुरी। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले स्वास्थ्य बीमालाई औपचारिक क्षेत्रसंग जोड्दै लगिएको बताएका छन् । स्वास्थ्य मन्त्री सारुले एक कार्यक्रमकाबीच स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुर्याउनका लागि औपचारिक क्षेत्रसंग जोड्दै लगिएको बताएका हुन्।

मन्त्री सारुले राज्यको मुख्य प्राथमिकतामा रहेको स्वास्थ्य बीमालाई विभिन्न तह र निकायमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य बीमामा जोड्दा राज्यको नीति र कार्यक्रम सफल बनाउन ठुलो मद्दत पुग्ने बताए।

उनले राज्यका विभिन्न क्षेत्रमा रहेका कर्मचारी र विशिष्ट व्यक्तिहरु स्वास्थ्य बीमासंग जोडिँदा उदाहरण प्रस्तुत समेत हुने भन्दै उनले यसलाई प्राथमिकता दिएर स्वास्थ्य मन्त्रालय अघि बढिरहेको जानकारी दिए ।

मन्त्री सारुले अहिलेसम्म सार्वजनिक क्षेत्रका दुई हजार बढी व्यक्तिहरुलाई स्वास्थ्य बीमासंग जोडेको बताए। आर्थिक रुपमा केही सबल व्यक्तिहरु समेत स्वास्थ्य बीमामा जोडिँदा सार्वजनिक अस्पतालको सेवा प्रवाहप्रति विश्वास बढ्ने उनको भनाइ छ ।

राज्यले अघि सारेको योजना तथा कार्यक्रमलाई सबैले साथ दिँदा सर्वसाधारण नागरिकलाई सेवा प्रवाह गर्न योगदान पुग्नै बताउँदै उनले भने, “सामान्य र कमजोर आर्थिक अवस्था भएका नागरिकहरुलाई प्राथमिकता दिएर स्वास्थ्य उपचार गर्ने लक्ष्यका साथ मन्त्रालयले अस्पतालहरुको सेवा प्रवाह अवस्था सुधार गरेको छ।”

स्वास्थ्य मन्त्री सारुले स्वास्थ्य बीमा लागु भएका अस्पतालहरु रेफरल सेनटरको रुपमा भन्दा त्यहीँबाट सेवा लिने वातावरण तयार गर्नेगरी योजना बनाएको बताउँदै सर्वसाधारण नागरिकलाई रोग लाग्नै नदिने, लागि हालेमा सहज र सरल तरिकाले उपचार गर्ने विषय स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा रहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया