
तानसेन। तानसेनको चापचौरमा रहेको दुई सताब्दी पुरानो पानीको मूल अहिलेसम्म पनि स्थानीयको खानेपानीको मुख्य स्रोतको रुपमा प्रयोगमा रहेको छ । तानसेन नगरपालिका वडा नंं ७ को बर्तुङ्ग नजिकै रहेको भाडखोला मूलमा बाह्रै महिना पानी नसुक्ने भएपछि स्थानीयले सहज तरिकाले यसको उपभोग गर्दै आएका हुन् ।
पहिले-पहिले सो भेगका अधिकांश मानिसको मुख्य स्रोतका रुपमा रहको यो मूल अहिले घर-घरमा धारा जडान हुँदा पनि खानेपानीका लागि प्रयोग हुँदै आएको स्थानीयले बताएका छन् । बाह्रै महिना पानी आउने हुँदा विगत र अहिले पनि यस क्षेत्रमा बसोबास गर्दै आएका धेरै पुस्तालाई पानीको मुख्य स्रोतका रूपमा यो मूल स्थापित भएको ५० वर्षदेखि पानी प्रयोग गर्दै आएकी स्थानीय लक्ष्मी रानाले बताइन् ।
बाउबजेको पालादेखि प्रयोगमा रहेको यो मूल अहिले धाराका रुपमा निरन्तर प्रयोगमा रहको उनको भनाइ छ । उनले थपिन्, “उतिबेला स्रोत साधनको कमीले भीरबाट रसाएको पानीमा केराको मचेटाको धारा बनाएर पानी भरिन्थ्यो, त्यसैगरी सिचाइँ पनि गरिन्थ्यो अहिले घरघरमा धारा पनि छ। तर पनि पहिलेदेखि यहीको पानी खादै आएको साह्रै मीठो लाग्छ।”
यो मूल नजिकै स्थानीयले देवीको पूजा गर्दै आएका छन् । जसले गर्दा पनि बाह्रै महिना पानी नसुकेको स्थानीयको भनाइ छ । स्थानीयले बैशाखे पूर्णिमा, ठूला एकादशी जस्ता विभिन्न अवसर पारेर नाग देवता र देवीको पूजा आराधना गर्ने, दुध धार दिने जस्ता कार्य गर्दै आएका छन् ।
कुवाको रुपमा रहको यो मूल अस्तव्यस्त अवस्थामा पुगेपछि केही वर्षअघि मुललाई संरक्षण र संवद्र्धन गर्ने कार्य पनि भएको छ । पानीको मूल रहेको क्षेत्रलाई पक्का गरिएकाे छ । भविष्यका लागि प्रयोग गर्न मिल्ने पानीटंकी निर्माण गर्न तानसेन नगरपालिकबाट बजेट छुट्याई निर्माण जनाएको छ ।
चापचौर क्षेत्रमा अहिले सबै घरमा पानीको धारा जडान भएपछि कुवाकै भर पर्नुपर्ने बाध्यता छैन । तर, केही स्थानीयले भने यो मूलको पानी आफ्ना दैनिक कार्यका लागि प्रयोग गर्दै आएका छन् ।
घर-घरमै पानीका धारा पुगि सक्दा पनि परापूर्व कालदेखि आफ्ना पुस्ताले त्यही मूलको पानी सेवन गरेको हुँदा आफूहरुले पनि यही मुलको पानी प्रयोग गर्दै आएको स्थानीय सरिता गुरुङ्गले बताइन् ।
पूर्खासंगै मूलसंग पनि घनिष्ट सम्बन्ध रहेको हुँदा अन्य धार भन्दा पनि यहाी मूलको पानी नै आफूहरुले प्रयोग गर्दै आएको अर्का स्थानीय लेख बहादुर रानाले बताए ।
कृषि क्षेत्रमा समेत यस मूलले ठूलो योगदान दिएको छ। यो क्षेत्रमा कृषि पेशा अंगाल्ने किसानले यही मूलबाट प्रसस्त सिंचाइ गर्न पुग्ने गरेको बताएका छ्न ।
पछिल्लो वर्षमा केही मात्रामा संरक्षणको पहल गरिएको यो मूललाई संरक्षण र थप व्यवस्थित गर्नका लागि नगरपालिका सदैव तयार रहने नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिङ्जालीले बताइन् ।