“आफ्नै छ आरनको व्यथा, लोप भए बन्छ एकादेशको कथा”

पाल्पा। तानसेन नगरपालिका वडा नं. ६ सुन्दर चोक बस्ने तीन परिवारले पूर्खोदेखि गर्दै आएको आरन पेशा लोप हुने अवस्थामा पुगेको छ । पछिल्लो समय आधुनिक यन्त्र उपकरणको प्रयोग बढ्नु र पेशाको पुस्ता हस्तान्तरण हुन नसक्दा आरन पेशा लोप हुने अवस्थामा पुगेको हो ।

अहिले तीन परिवारमध्ये दुई परिवारले मात्रै यो पेशा गर्दै आएका छन् । बच्चैदेखि आरन पेशा अंगाल्दै आएका टिकाबहादुर विक (क)ले विगतमा निकै संघर्षपूर्ण ढंगले निरन्तरता दिँदै आएको आरन पेशा अहिले लोप हुने अवस्था आएको बताए ।

उनले आफूपछिका पुस्ताले यो पेशाप्रति चासो नदिएको र विगतको तुलनामा आरनबाट बनेका सामग्रीको माग पनि घटेको हुँदा पेशा नै संकटमा पुग्ने अवस्थामा आएको बताए ।

उनले भने, “पहिले ८ जनाको परिवार आरन पेशाबाटै बाल बच्चालाई पढाउने लेखाउने कुरामा निकै गाह्रो थियो, तापनि यस पेशा सिवाए अर्को कुनै विकल्प थिएन, यस पेशा गर्दै आएको पनि करिब ६० वर्ष बितिसक्यो तर यसबाट खासै सोचे जस्तो फाइदा हुन सकेन।

उनले आफूहरुको पेशा संरक्षण र आधुनिकीकरणका लागि पहल हुन नसक्दा पनि समस्या आएको बताए । “केही वर्ष अघि स्थानीय सरकारले प्रोत्साहन स्वरुप वेल्डिंग मेसिन र ड्रिल मेसिन उपलब्ध गराएपछि दुवै सामानको सही सदुपयोग गर्दै अगाडि बढिरहेको थियो। तर, अहिले यी सामान पुरानो, जीर्ण भएकाले ओझेल पर्न लागेको  छ। आरनमा पुनःस्थानीय सरकारको उपस्थिति र साथ भएको खण्डमा हामीलाई केही राहत पुग्ने थियो भन्ने छ।” उनले भने।

उनीसंगै नजिकै एउटै पेशामा आवद्ध टिका बहादुर कामी (ख) वृद्ध र अशक्त भएका कारण यस पेशालाई छोड्नु परेको बताए ।परिवारका अन्य सदस्यले यो पेशामा चासो नदिएपछि अहिले आफूले यो पेशा गर्न छाडेको उनको भनाइ छ।

साेही स्थानका जीतबहादुर कामीले पनि विगतको तुलनामा व्यापार नभएको बताए। उनले भने, “पहिले जस्तो छैन, तर हामीले किसानको कृषि औजार बनाए बापत कम शुल्क लिने गरेका छौं, किसानलाई पनि सहयोग पुगेको छ। यही पेशाबाट मात्रै सबै खर्च चलाउन गाह्राे नै पर्ने अवस्था आएको छ।” उनले भने।

आरनबाट तयार भएका औजार नै कृषि क्षेत्रको पहिलो र सस्तो औजारका रुपमा प्रयोग भएको पाइन्छ । अहिले आधुनिक र आयातित यन्त्र उपकरणको प्रयोग बढेपछि पुराना परम्परागत सीपका सामग्रीको प्रयोगमा कमी आएको किसानहरुले बताएका छन् । तर, निम्न आयस्रोत भएका किसानले भने अहिले पनि नयाँ प्रविधि प्रयोग गर्न महंगो पर्ने भएकाले आरनबाट तयार हुने औजार नै प्रयोग गर्दै आएका छन् ।

स्थानीय कृषकलाई हसिया, कोदालो, कुटो जस्ता सम्पूर्ण सामग्री बनाउन आरनले साथ दिएको छ । लोप हुन लागेको पेशाको संरक्षण हुन नसकेमा आरनबाट पाउने सुविधा लिनका लागि अयन्त्र जानुपर्ने समस्या रहने स्थानीय थमनबहादुर गाहाले बताए ।

उता स्थानीय सरकार तानसेन नगरपालिकाले माग भएको अवस्थामा परम्परागत पेशा संरक्षणका लागि सहयोग गर्न जनाएको छ । आरन पेशालाई व्यवस्थित गर्न सीपमूलक तालिम र आवश्यक सामग्रीका लागि नगरपालिकाले सहयोग गर्ने तानसेन नगरपालिकाकी उप-प्रमुख प्रतीक्षा गाहा सिंजालीले बताइन् ।

परम्परागत पेशालाई झल्काउने कथा बोकेको आरन पेशा र कृषकको साथी बन्ने हुँदा आवश्यक सहयोगका लागि स्थानीय सरकार उनीहरूको साथमा रहने उप-प्रमुख सिंजालीले बताइन् ।

तपाईको प्रतिक्रिया