
पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले लुम्बिनी प्रदेशका सबै जिल्लाका अस्पतालहरुमा अपरेसनद्धारा बच्चा जन्माउन सकिने अवस्था रहेको बताएका छन् । मन्त्री सारुले मातृ मृत्यु दरको अवस्था र मातृमृत्य हुने कारणको अध्ययन गरि रोकथामका लागि सबै जिल्लाका अस्पतालहरुमा अपरेसन गरेर बच्चा जन्माउन सकिने व्यवस्था मिलाएको बताएका छन् ।
प्रदेश सभा संसदमा प्रदेशसभाका सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै स्वास्थ्यमन्त्री सारुले स्वास्थ्य संस्थामा सेवा लिन ढिलो पुग्ने र स्वास्थ्य संस्थामा प्रयाप्त भौतिक पुर्वाधार तथा विशेषज्ञ जनशक्ति नहुँदा मातृ मृत्यु बढि भएको भन्दै त्यसलाई सुधार गरेर सबै जिल्लाका अस्पतालहरुमा अपरेसन गरेर बच्चा जन्माउन मिल्ने व्यवस्था मिलाएको बताए ।
संसदमा बोल्दै मन्त्री सारुले यसको सुधारका लागि भौतिक पूर्वाधार र थप जनशक्तिसहित लुम्बिनी प्रादेशिक अस्पतालमा छुट्टै बर्थिङ युनिट र अपरेशन थिएटर सञ्चालन गरिएको, थप जनशक्तिसहित भेरी अस्पताल अस्पतालमा छुट्टै बर्थिङ युनिट सञ्चालन गरिएको, वार्षिक ४०० भन्दा बढि प्रसुति गराउने बर्थिङ सेण्टरहरुमा थप जनशक्ति उपलब्ध गराइएको बताए।
उनले स्थानीय तहमा सञ्चालित बर्थिङ सेन्टरहरुको सुदृढिकरणको लागि औजार उपकरण उपलब्ध गराइनुको साथै पूर्वधार निर्माणको लागि सहकार्य गरिएको बताए।
मन्त्री सारुले बाल मृत्युदरको अवस्था, मृत्य हुनको कारण र रोकथामका लागि सबै अस्पतालहरुमा बालरोग विशेषज्ञको दरबन्दी सृजना गरी परिपुर्तिको लागि करार विज्ञापन गरिएको, दुर्गममा काम गर्ने विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन कार्ययक्रम सञ्चालन गरिएको, लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालको NICU -Neonatal intensive Care Unit )सेवाको क्षमता विस्तार गरिएको र जिल्ला स्थित अस्पतालहरु सम्म SNCU -Special New Born care Unit सेवा विस्तार गरिएको बताए।