
पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाले सुविधा सम्पन्न प्रशासकीय भवन नेपाल सरकार उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिह र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संयुक्त उद्घाटन गरेका छन् ।
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका १ चिर्तुङगधाराको चिलाङ्दीमा प्रशासकीय भवन निर्माण गरिएको थियो । ४ तले भवनमा १९ ओटा कोठा रहेको थियो । सो भवनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गर्ने तयारी थियो । गाउँपालिकाको ब्यानरमा प्रधानमन्त्री केपी शर्माको फोटो राखेर प्रचार गरिएपनि स्वास्थ्यका कारण देखाएर प्रधानमन्त्री पाल्पा आएनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएसँगै उपप्रधानमन्त्री सिंह र पौडेलले उद्घाटन गर्ने मौका मिल्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं मार्फत भर्चुलका माध्यमबाट प्रशासनिक भवनको उद्घाटन पनि गरे ।
उपप्रधान मन्त्री सिंहले गाउँपालिकाले दिने सेवालाई थप प्रभावकारी र सहज बनाउने विश्वास ब्यक्त गरे । नेपालमा एकात्मक व्यवस्था अन्त्य भइसकेकोले नागरिकलाई महसुस हुने गरी संघीय व्यवस्था कार्यान्वयन गर्न सबै स्थानीय तहलाई मन्त्रीको अनुरोध थियो । उप प्रधानमन्त्री पौडेलले पाल्पाली जनताको चाहनालाई मुर्त रुप दिन यो सरकार संकपवद्ध रहेको बताए । पाल्पाको पालिका स्तरबाट हुने काम पालिकाबाट गर्नुहोस र प्रदेश स्तरबाट हुने काम प्रदेश गर्नुहोस् र सघीय सरकारले गर्ने काम हामीले गछौँ र पाल्पालाई विकसित गर्न हामीहरु लागि परेको मन्त्रीको भनाई थियो । शिक्षकको निवृत्तीभरण २०७५ सालदेखि लागु हुने होइन । कानून प्रमाणित भएसँगै २०८१ देखि मात्र लागु हुने मन्त्रीको भनाई थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गौतमले प्रशासनिक भवनको निर्माणले सेवा प्रवाह छिटो छरितो रुपमा सञ्चालन हुने बताए । लुम्विनी प्रदेशसभा सदस्य वीर बहादुर रानाले युवा पुस्ता रोजगारीका अवसरमा खोजीमा गाउँ छाडिरहेकाले स्वदेशमा रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
बगनासकाली गाउँपालिकाको भवन निर्माणको २०७८ फागुन ८ गते निर्माण सुरु गरी २०८० फागुन २ गते निमार्ण सम्पन्न गरिएको बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् । भ्याटबाहेक ५ करोड ६७ लाख ४९ हजार १४७ रुपैयाँ लगानीमा सुविधासम्पन्न भवन निर्माण गरिएको हो । भवन स्थानीय सरकारको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत लगानीमा निर्माण भएको हो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष सरस्वती चिदीको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकको स्वागत र प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आउने पाहुनाहरुलाई पञ्चेबाजाले स्वागत गरिएको थियो । उद्घाटन कार्यक्रममा विभिन्न समुदायका नृत्य प्रदर्शन गरिएको थियो ।