
पाल्पा। प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र काँग्रेसबीचको गठबन्धन ८४ को निर्वाचनसम्म कायम रहने बताएका छन् । उनले मुलुकमा विकास र समृद्धि हासिल गराउन दुई ठूला दल मिलेर बनेको सरकार सहमतिअनुसार नै अघि बढ्ने दावी गरे ।
शुक्रबार पाल्पाको बगनासकाली र तिनाउ गाउँपालिकामा नर्वनिर्मित प्रशासनिक भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सत्ता साझेदारी परिवर्तनका लागि परिवर्तन मात्रै नभएको बताउँदै देश बनाउनुका लागि स्थायित्व ल्याउनका लागि यो सरकार बनेको बताए ।
उनले विकास निर्माण र मुलुकलाई समृद्ध बनाउने दिशामा सरकार लागेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले केही मानिसहरु विकास देख्न र सुन्न नचाहने भएपनि त्यसको पछि नलाग्ग आम नागरिकलाई आग्रह गरे। उनले करिब दुई तिहाइको सरकार बनेको बताउँदै कांग्रेससंग भएको सहमतिअनुसार आफुले काँग्रेसलाई नेतृत्व हस्तान्तरण गर्ने बताए।
प्रधान्मन्त्री ओलीले पाल्पा घरेलु तथा कुटिर उद्योगको लागि प्रख्यात रहेकाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन घरेलु कुटिर उद्योग र कृषिमा जोडदिन स्थानीय सरकारलाई निर्देशन दिए ।
प्रधान्मन्त्री ओलीले विकास निर्माणलाई तीव्रता दिएर पश्चिम नेपालका पाल्पासहित, गुल्मी, स्याङ्जा, तनहु, बाग्लुंङ्गलगायतका जिल्लाहरुमा प्राकृतिकसंगै, धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना धेरै रहेको बताउदै त्यसको प्रचार र विकासका लागि सरकार प्रतिबद्ध रहेको पनि सो बखत बताएका थिए ।