माथागढी छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि चिदीपानीको सौभाग्य माविलाई

पाल्पा । माथागढी गाउँपालिकास्थित सराई खेल मैदानमा सञ्चालित छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सौभाग्य मावि चिदीपानीले जितेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ८ वटा स्वर्ण पदकसहित १९ पदक जितेर सौभाग्य माविले यस वर्षको राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा विजेता बनेको हो ।

सौभाग्य माविले ८ स्वर्ण, ६ रजत र ५ वटा कास्यपदक जितेको माथागढी गाउँपालिका शिक्षा शाखाकी प्राविधिक सहायक एलिना थपलियाले जानकारी दिनुभयो । यस्तै किसान मावि झडेवाले ७ स्वर्ण, तीन रजत र ४ कास्य पदकसहित दोस्रो बनेको हो । यस्तै ६ स्वर्ण ५ रजत र २ कास्यसहित दिव्यज्योति मावि तेस्रो बनेको खेल संयोजक प्रेमबहादुर बाह्रघरेले जानकारी दिए।

यस्तै सातपोखरी मावि र माउण्ट भ्याली माविले १०-१० पदक जितेका छन् । यस्तै ग्रामोदय माविले ९, कर्णाधार माविले ७, रत्न मावि, हात्तीलुङ् मावि, सिद्धार्थ मावि र महेन्द्र नरेश माविले ३-३ पदक जितेका छन् । यस्तै सनराइज पव्लिक माविले एक पदक पाएको बाह्रघरेले जानकारी दिए। प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १४ वटा विद्यालयको सहभागिता रहेको थियो ।

रनिङ् शिल्ड प्रतियोगितामा ज्याभलिन थ्रो, रिले दौड, एकल दौड, भलिबल, हाइजम्प, लङ्ग जम्प, सटफुटलगायतका खेलमा प्रतिष्पर्धा भएको थियो । यस पटक माथागढी गाउँपालिकाले प्रतियोगिता सञ्चालन गर्न वजेटको व्यवस्था गरेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिए।

विजेता खेलाडीलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले खेलकुद प्रतियोगिताले विद्यार्थी–विद्यार्थीका बीचमा सकारात्मक प्रतिष्पर्धा गर्ने भावनाको विकास गर्न सहयोग पुग्ने बताए। माथागढी गाउँपालिकाले वजेटको व्यवस्थापनबाट भएको प्रतियोगिताले विद्यालय र विद्यार्थीका बीचमा असल अन्तरसम्बन्ध कायम गर्न भूमिका खेलेको दावी गरे। खेलकुदका माध्यम्बाट देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने मन्त्री सारुको भनाइ छ ।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी हो भन्ने मान्यताबाट प्रदेश सरकार अघि बढेको उल्लेख गर्नुहुँदै उनले खेलका माध्यम्बाट निरोगी रहन सहयोग पुगेको बताए।

मन्त्री सारुले “संसार खेलकुदकै माध्यम्बाट चिनिएको छ, हामीले पनि हाम्रो देश, समाज, परिवार र विद्यालयलाई चिनाउन सकेका छौँ । असल संस्कार, सकारात्मक सोच र असल कर्मले मात्रै सफलता हासिल गर्न सकिन्छ।” उनले भने ।

कार्यक्रम माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीको अध्यक्षता, दिव्य ज्योति माविका प्रधानाध्यापक लोकेन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो ।

खेलकुद सम्पन्न गर्न रेफ्रीको भूमिका गर्नुहुने धनपति गैरे, मोहन दर्लामी, प्रेमध्वज गाहा, नुरराज गैरे, दिनेश बस्याललाई सम्मान गरिएको थियो । यस्तै सहायक रेफ्रीको राजिव भट्टराई, प्रियाक चिदी, स्थानीय सामाजसेवी तथा समूहलगायतलाई सम्मान गरिएको गरिएको सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया