दक्ष जनशक्ति नहुनु स्वास्थ्य क्षेत्रको समस्याः स्वास्थ्यमन्त्री सारु

पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले दक्ष जनशक्ति नहुँदा हाम्रो देश पछी परिरहेको बताएका छन् । यूनाइटेड मिसन अस्पताल, तानसेनको एस.वि.ए. तालिम ५९ औं ब्याच तथा एम.एल.पी. ४० औं ब्याच तालिम समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री सारुले नेपालमा कम मात्रामा दक्ष जनशक्ति उत्पादन हुने र देशमा बस्ने प्रवृति नहुँदा देश पछी परेको बताए ।

उनले सुत्केरी भएको ४८ घण्टापछि ४६ प्रतिशत आमाहरुको मृत्यूदर रहेको भन्दै अवस्था गम्भीर रहेको बताए। उनका अनुसार सेवा प्रवाहमा कमजोरी हुँदा ६८ प्रतिशत सेवाग्राहीहरुले छोडेर जाने तथ्यांक रहेको उल्लेख गरे ।

मन्त्री सारुले गुणस्तरीय सेवा प्रवाह नहुँदा सेवाग्राहीहरुले सेवा प्रदायक संस्थालाई विश्वास नगर्ने र त्यो संस्था छोडेर जाने वातावरण रहेको पनि बताए । मन्त्री सारुले सेवाग्राहीले सहज रुपमा देख्न सक्ने गरी सेवा र शुल्कसहितको नागरिक बडापत्र राख्न निर्देशन दिइएको बताए। उनले लुम्बिनी प्रदेशका १४ वटै सरकारी अस्पतालहरुमा यो लागु गरिएको बताए।

युनाइटेड मिसन अस्पतालका तालीम संयोजक लेस डोर्ननले तालीममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्ने बताए। उनले सिकेका ज्ञान र अनुभवलाई आफ्नो ठाउँमा आएका बिरामीहरुमा प्रयोग गर्नुपर्ने बताए।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले पाल्पाको मिसन अस्पतालमा तालीम लिन पाउनु निकै राम्रो भएको बताए। उनले तालीमले पहिले दिइरहेको सेवा भन्दा थप सेवा दिन सक्ने आत्मविश्वास बढाएको बताए ।

तालीमका संयोजक पशुपति न्यौपानेले पहिले २५ प्रतिशत ज्ञान रहेकोमा तालीमपछि ९७ प्रतिशत प्रगति भएको बताए।

स्वास्थ्य तालिम केन्द्रका भुवन कुँवरले आफ्नो कार्यक्षेत्रमा गएर कति गर्ने लगनशिलताको आधारमा नतिजा प्राप्त हुने बताउँदै आवश्यकता भन्दा धेरै रहेका बर्थिङ सेन्टर रहेकोमा त्यसको व्यवस्थापन जरुरी रहेको बताए।

अस्पताल प्रशासन प्रमुख जीवन भट्टराईले विगत ७१ वर्षदेखि पाल्पामा मिसन अस्पतालले पाल्पाको स्वास्थ्य क्षेत्रमा सहज पहुँच नभएका नागरिकहरुलाई सेवा दिएको दावी गरे ।तालीमका सहभागिहरु पृथ बहादुर बानियाँ र लक्ष्मी पौडेलले आफ्नो कार्यक्षेत्रमा गएर सिकेका सीपलाई सिकाउने र सकेसम्म धेरै प्रयोग गर्ने बताए।

मंसिर १३ गतेदेखि ६० दिनसम्म चलेको तालीममा पाल्पासहित रोल्पा, दाङ, गुल्मी, अर्घाखाँची, प्यूठान, बर्दीया, रुकुमलगायतका जिल्लाबाट सहभागिहरु उपस्थित भएका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer