पाल्पाका १० हजारबढी किशोरीलाई एचपीभी खोप दिइने

तानसेन। पाल्पाका दश हजारबढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप दिइने भएको छ । संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको कार्यक्रम अनुसार जिल्लाका दश स्थानीय तहका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने दश हजार ४५८ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिए।

विद्यालयमा अध्ययनरत दश हजार ३ सय ८८ जना र विद्यालय बाहिर रहेका ७० जना छात्राहरु यो कार्यक्रममा सहभागी हुनेछन् । दुई चरणमा सञ्चालन हुने अभियानमा दुई सय ३५ वटा विद्यालय र ७७ वटा स्वास्थ्य संस्थामा खोप केन्द्रको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

खोप अभियानमा तीन सय १५ भ्याक्सिनेटर स्वास्थ्यकर्मी र छ सय २७ स्वयमसेवक परिचान गरिने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पहिलो चरण माघ २२ गते देखि २६ गतेसम्म पाँच स्थानीय तह र दोस्रो चरण माघ २८ देखि फागुन ४ गतेसम्म ५ स्थानीय तहमा गरी अभियान सञ्चालन हुने तयारी भएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन विश्वनाथ न्यौपानेले जानकारी दिए।

विद्यालय बाहिर रहेका किशोरीलाई स्वास्थ्य चौकीमा खोप केन्द्र बनाएर अभियानमा सहभागी बनाउने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आइतबार जिल्लास्थित खोप समन्वय समिति र सञ्चारकर्मीसंग भएको अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक टंकनाथ खनालले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सबै सरोकारवालाले पहल गर्नुपर्ने बताए । उनले खोप अभियानमा विद्यालय र पालिकास्तरका स्वास्थ्य शाखाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढाएर अभियानबारे जानकारी दिन तथा सबै किशोरीलाई अभियानमा सहभागी बनाउन ध्यान दिनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले खोप अभियान सफल बनाउन मिडियाले आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया