
पाल्पा। तानसेन नगरपालिका वडा नं. ६ बर्तुङ्ग निवासी ७० वर्षीय थमनबहादुर गाहाले कृषि पेशामा चार दशक बिताएका छन् । युवा अवस्थादेखि हालसम्म कृषि पृशाबाटै दैनिक गुजारा चलाएको उनको भनाइ छ। अरुको जग्गामा काम गर्दै आएका गाहाले मोहियानी हकबाट जग्गा प्राप्त गरी कृषि कर्म गर्दै आएको हुन् ।
उनी भन्छन्, “४३ सालदेखि दशरथ मानसिंहको अधिया गरेको थिए। १७ वर्ष अधिया गरेपछि ६० सालमा मोहियानी हक पाएको थिए । त्यसबेला घरमा आठ जनाको परिवार थियो, कृषि शिवाय कुनै विकल्प नभएकोले गुजारा चलाउन निकै धौधौ हुन्थ्यो। छ रोपनि मैयानी हक पाएपछि आफ्नै खेती गर्दै आए र केही सहज महसुस भएको छ तर पनि सोचे जस्तो मनज्ञ आम्दानी त छैन तर सन्तोष मानेका छौ।”
कृषिबाट पनि सहयोग स्वरूप पोखरी बनाई पानी संकलन गर्न प्लास्टिक टंकी र टनेल उपलब्ध गराएको उनको भनाइ छ । विगतमा वडाबाट बीउ, टनेल, तरकारी रोप्ने प्लास्टिक उपलब्ध गराएको उनले बताए ।
उनी भन्छन्- “म देशविदेश कतै गइन यसैमा निर्भर रहे धनी पनि भइन मर्न पनि मरिन, तर दुःख धेरै छ, मेहनत धेरै छ। वर्षामा धान र हिउँदमा आलु, साग, बन्दा, काउली, गहु, आदि रोपेर घरलाई पुर्याउँछु । बाँकी बेचेर मल बीउ आदि किन्न पुगेको छ।”
उनले वर्षमा सरदर ५०।६० हजार जति कमाइ गर्ने बताए । उनकाे खेतमा फागुनदेखि १५ असारसम्म पानीको अभावले सिँचाइ गर्न धौ हुँने गाहाले बताए ।
सिँचाइका लागि स्थानीय सरकारको ध्यान केन्द्रित भए राहत मिल्ने उनकाे भनाइ छ।
“कृषि नगरौँ खाना छैन कृषि गरौ मनज्ञ आम्दानी छैन यस्तो अवस्थामा घर पनि पहिरोले जान्छ कि भन्ने पिर बढी छ घर पछाडि खोल्सामा तानसेन भन्दा मुनिदेखिको पानीले वर्षा मासमा रातैभरि निन्द्रा पर्दैन यो आफै निर्माण गर्न पनि सक्दिन।” उनले भने ।
स्थानीय सरकारले पक्की नाली निर्माण गरी घरगोठ जोगाइदिए खेती किसानी त गरेरै खान्छौ भन्ने माग गरेको उनको भनाइ छ । उनको विषयमा स्थानीय किसान पनि चिन्तित छन् । स्थानीय भोगबहादुर थापा भन्छन् किसानलाई सम्मान गर्नुपर्छ र उनीहरूका आवश्यकता पुरा गर्नुपर्छ। किसान नभए हामी प्रत्येक दिन भोकभोकै मर्नुपर्छ।
त्यसैगरी स्थानीय धनवीर थापा भन्छन् “किसानले उब्जाएका प्रत्येक दानामा हाम्रो प्राण अडिएको छ तसर्थ यस्ता किसानलाई प्रोत्साहन स्वरूप सम्मान कार्यक्रम पनि वडाले राख्नुपर्छ।”
थमनबहादुरको नालीको समस्या समाधान गर्ने पहल भएको तानसेन ६ का वडाअध्यक्ष सागरमा महर्जनले बताए । उनले वडाले पहिलो प्राथमिकतामा राखेर योजना परेर अथवा माग गरेको अवस्थामा वडाको तर्फबाट मिल्नेसम्मको सहयोग गर्ने वडाध्यक्ष महर्जनले जानकारी दिए ।