रिब्दीकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

तानसेन। रिब्दीकोट गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै नागरिक सुनुवाई गरेको छ । पालिकाले सञ्चार मञ्च पाल्पासंगको समन्वयमा आर्थिक वर्ष २०८१।८२ हालसम्म सम्पादित कार्यको सुनुवाई गरी नागरिकका गुनासो र सुझाव संकलन गरेको हो ।

सुनुवाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले नागरिकका आवश्यकता सम्बोधन गर्न सार्वजनिक सुनुवाई प्रभावकारी भएको बताए। उनले अघिल्लो सुनुवाइको तुलनामा समस्याहरु सम्बोधन भएको बताउँदै नागरिकले दिएका सुझावलाई कार्यान्वयनको चरणमा अघि बढ्ने बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले नागरिकका गुनासो सम्बोधन गर्दै पालिका सुधार गर्न सिंगो कार्यपालिका लाग्ने बताइन् ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले चालु आर्थिक वर्षमा सम्पादन भएको कार्यसम्पादन प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आन्तरिक आम्दानी, योजना सम्झौता र कार्यान्वयको अवस्था पालिकाबाट प्रवाह गरिएको सेवा सुविधाका विषयमा जानकारी गराएका थिए । यस्तै संचार मञ्च पाल्पाको तर्फबाट वडा तहबाट संकलन गरिएको नागरिक सन्तुष्टि सर्भेक्षण र वर्हिगमन अभिमतको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सुनुवाइमा सहभागी स्थानीयले सडक सुधार, कृषि, पर्यटन, शिक्षा, खानेपानीलगायतका विषयमा भएको प्रगतिलाई थप विस्तार गर्नुपर्ने सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer