
तानसेन। तानसेन-९ मदनपोखरामा एक दिने कृषि मेला हुने भएको छ । मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार तेस्रो कृषि मेला प्रदर्शनी हुने भएको हो।
मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । कृषि व्यवसाय, कृषि उद्यम र कृषि पर्यटन प्रवर्द्धन गर्न मेला आयोजना गरिएको हो । आयोजक संस्थाले जनाएको छ । कृषि उत्पादन बढाऔं , परनिर्भरताको अन्त्य गरौं भन्ने नाराका साथ तिन्टी आँप खेल मैदानम हुन लागेको मेलामा ३५ वटा स्टल रहने छन्।
मेलामा कृषि बाली, बाख्रा कुखुरा, रैथाने बाली, कृषि औजार, बीउबिजन प्रदर्शनी हुनेछ । यस्तै पशु रोग निदान तथा गोबर परीक्षण, बाली रोग निदान शिविर, प्लान्ट क्लिनिक, माटो परीक्षण शिविर, कृषि उद्यम अनुभव आदानप्रदान लगायतका स्टल रहने सहकारीका अध्यक्ष घनश्याम घिमिरेले बताए। यस्तै किसानले आफैले बनाएका खानाका परिकार, किसानकै गीत, नाटक र नृत्य, कृषक समूहहरूको झाँकी र्याली मेलाका आकर्षण रहने आयोजकले बताएका छन् ।
किसानको हित, परस्पर लाभ र सम्मानसँग यो मेला जोडिएको वडा अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिए । मेला सम्पन्न गर्न जिल्लास्थित कृषिसंग सम्बधित कार्यालय, वडा नं. ७, ८ र ९ तथा सहकारीले गरी ५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। मेलाको अवसरमा उत्कृष्ट किसानलाई पुरस्कृत गरिनेछ।
मदनपोखरा तरकारी खेतीले परिचीत छ। गतवर्ष यहाँबाट ६ सय मेट्रीक टन तरकारी निर्यात हुँदा दुई करोड भन्दा बढीको कारोबार भएको सहकारीका व्यवस्थापक अनिसा ढकालले बताइन्।
यो वर्ष पनि मदनपोखराबाट चार सय २२ मेट्रीक टन तरकारी निर्यात भइसकेको बताइएको छ ।