तानसेनको जनता माध्यमिक विद्यालयमा ‘मेरो विद्यालय मेरो दायित्व’ शैक्षिक अभियान सम्पन्न

पाल्पा । तानसेन नगरपालिका-३ मा रहेको जनता माध्यमिक विद्यालयमा लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘मेरो विद्यालय मेरो दायित्व’ शैक्षिक अभियान सम्पन्न भएको छ। उक्त कार्यक्रम लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको विद्यालयले जनाएको छ।

कार्यक्रममा मन्त्री सारुले मुलुकको निर्माण र समृद्धिका लागि विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै, प्रविधियुक्त शिक्षाको आवश्यकतामा जोड दिए। उनले प्रविधिमैत्री शिक्षा प्रणाली अपनाउनका लागि उचित तालिम तथा व्यक्तिगत काउन्सेलिङको व्यवस्था गर्नु आवश्यक रहेको बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले विद्यालयको पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार विद्यालय राम्रो भए मात्र विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार आउन सक्छ। तानसेन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले विद्यार्थी र शिक्षकबीच राम्रो समझदारी हुनु आवश्यक रहेको भन्दै शिक्षामा सुधार ल्याउन सबैको ध्यान जानुपर्ने उल्लेख गरे।

विद्यालयका भूतपूर्व विद्यार्थी मञ्चका सचिव सन्तोष खनालले पूर्व विद्यार्थीहरूले आफ्नो अध्ययन संस्थाप्रति दायित्वबोध गर्नुपर्ने बताए। उनले सामुदायिक विद्यालयको खस्कदो स्तरलाई सुधार गर्दै शिक्षाको गुणस्तर उन्नति गर्ने अभियानको मुख्य उद्देश्य रहेको बताए।

यसैगरी, विद्यालयका पूर्व प्रधानाध्यापक बुद्धिप्रसाद शर्माले विद्यार्थी र शिक्षक दुवैले आफ्नो कर्तव्य बुझ्नुपर्नेमा जोड दिए। पूर्व प्राचार्य मेघराज पौडेलले शिक्षा सुधारका लागि विद्यार्थीहरूको जिम्मेवारी महत्त्वपूर्ण रहेको भन्दै शिक्षामा सुधार विद्यार्थीहरूबाट नै सुरु गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया