भैरव माविको ६५औँ वार्षिकोत्सव : सात जना शिक्षक सम्मानित

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ स्थित भैरव माध्यमिक विद्यालयले शैक्षिक सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएका सात जना शिक्षक-शिक्षिकालाई सम्मान गरेको छ।

विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस को अवसरमा शिक्षकहरूको कार्य मूल्याङ्कनको आधारमा उनीहरूलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक झलक रायमाझीले बताए ।

संघीय सांसद ठाकुर प्रसाद गैरे, गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर रायमाझीले सम्मानित शिक्षकहरूलाई ढाकाको पछौरी र सम्मानपत्र प्रदान गरेका थिए । सम्मानित शिक्षकहरूमा शिक्षक सहायक प्रधानाध्यापक दामोदर पोखरेल, शिक्षकहरू दामोदर घिमिरे, खिमानन्द पोखरेल, निर्मला भण्डारी, विनिता रायमाझी, सीता भण्डारी, तथा कार्यालय सहयोगी यशोदा शर्मा रहेका छन्।

कार्यक्रममा संघीय सांसद ठाकुर प्रसाद गैरेले भैरव मावि पाल्पाको पश्चिम क्षेत्रको शैक्षिक केन्द्रको रूपमा विकास हुँदै गएको उल्लेख गरे । विद्यालयमा क्याम्पस सञ्चालन भएपछि यस क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता हटेको उनले बताए।

गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारको सहयोग रहने प्रतिवद्धता जनाए ।

भैरव माविका प्रअ झलक रायमाझीले वाषर्र््िाक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको गुणस्तर सुधार गर्न तीन तहको सरकारको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रम वडा नं. ४ का वडाध्यक्ष गोविन्द्र रायमाझीको अध्यक्षतामा सम्पन्न भएको थियो। विद्यालयमा विभिन्न सांस्कृतिक कार्यक्रम, अभिभावक छलफल तथा सम्मान कार्यक्रम समेत आयोजना गरिएको थियो।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer