
पाल्पा। पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ स्कूलले आफ्नो स्थापनाको २५ औं वार्षिक उत्सव तथा रजत जयन्ती भव्य रूपमा सम्पन्न गरेको छ। २०५३ सालमा स्थापना भएको यो स्कूलले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिँदै पाल्पा जिल्लाकै प्रतिष्ठित शिक्षण संस्थाको रूपमा आफूलाई स्थापित गराएको छ।
सुरुवातमा पाँच कोठे टहराबाट स्थापना भएको यो विद्यालयले आज सुविधा सम्पन्न पक्की भवनबाट अध्ययन–अध्यापन गराइरहेको छ। प्रारम्भमा ८७ जना विद्यार्थी राखेर सञ्चालनमा आएको स्कूलमा हाल ३०८ विद्यार्थी अध्ययनरत छन्। शैक्षिक व्यक्तित्व अनिल कुमार रनपालको नेतृत्वमा स्थापना भएको विद्यालय प्रारम्भिक चरणमा विभिन्न घरहरू भाडामा लिएर सञ्चालन भएको थियो।
२०६१ सालमा राजनीतिक अस्थिरताका कारण विद्यालय धरासयी अवस्थामा पुगेको थियो भने २०६६ सालमा नयाँ व्यवस्थापनको सक्रियताले पुनः सञ्चालनमा ल्याइएको थियो। विद्यालय पुनः सञ्चालन गर्न चन्द्रबहादुर नेपाली, रामबहादुर बयम्बु, दीपक गुभाजु, ताराबहादुर कुवर, वर्तमान अध्यक्ष जगदीश प्रसाद भट्टराई, हालका प्रिन्सिपल गंगाबहादुर खत्री लगायतको महत्वपूर्ण योगदान रहेको छ।
रजत जयन्ती समारोहका अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले निजी क्षेत्रबाट सञ्चालन भएको विद्यालयले जिल्लाको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे। उनले अबको आवश्यकता व्यवसायिक तथा प्राविधिक शिक्षाको भएको उल्लेख गर्दै स्कूललाई त्यसतर्फ ध्यान दिन आग्रह गरे। साथै, उनले आगामी वर्षदेखि लुम्बिनी प्रदेशभरका विद्यालयमा घुमन्ते नर्स अभियान सञ्चालन गरिने जानकारी गराए।
समारोहमा प्याब्सन पाल्पाका अध्यक्ष डाँसुराम पन्थ, तानसेन नगरपालिका–३ का वडा अध्यक्ष बाबुरत्न शाक्य, साहित्यकार राजेन्द्र गोपाल सिंलगायतका वक्ताहरूले स्कूलको २५ वर्षे यात्राको प्रशंसा गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश प्रसाद भट्टराईले भविष्यमा पनि समयसापेक्ष शिक्षालाई प्राथमिकता दिँदै स्वर्ण जयन्ती भव्य रूपमा मनाउने प्रतिबद्धता व्यक्त गरे। प्रिन्सिपल गंगाबहादुर खत्रीले विद्यालयको हालसम्मको उपलब्धि प्रस्तुत गर्दै सबैको सहयोगकै कारण स्कूलले रजत जयन्ती मनाउन सफल भएको बताए।
कार्यक्रमका अवसरमा विद्यालयको शैक्षिक, भौतिक विकासमा योगदान पुर्याउने पूर्व अध्यक्ष, शिक्षक, कर्मचारी, पत्रकार, परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै, पूर्व विद्यार्थी समाजले ७० वर्षभन्दा माथिका अभिभावकहरूलाई सम्मान गर्दै विद्यालयसँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश प्रसाद भट्टराईको अध्यक्षता, विद्यार्थी ओजस्वी पाण्डेको स्वागत मन्तव्य, शिक्षक रामप्रसाद तिमिल्सीनाको मन्तव्य र विद्यार्थीहरू केकी बस्याल तथा आरती बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।