छहरा बजार व्यवस्थापन सुरु

तानसेन। पश्चिम पाल्पाको मुख्य बजार छहरा बजार क्षेत्रको सडक विस्तार र बजार व्यवस्थापन काम सुरु भएको छ । बजार क्षेत्रलाई सुन्दर र सफा बनाउने लक्ष्य अनुसार लुम्बिनी प्रदेश सरकारको ७५ लाख आर्थिक सहयोगमा कामको थालनी भएको हो।

रैनादेवी छहरा गाउँपालिकाको केन्द्र नजिकै रहेको बजार क्षेत्रलाई व्यवस्थित बनाउन सडक विस्तार तथा स्तरोन्नतिका लागि टेन्डर गरी सडकको दायाँबायाँ नाली निमार्ण, वाल र पर्खाल लगाउने जस्ता कार्य भएका हुन् ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको हपलमा चालू आर्थिक वर्षमा विनियोजित ७५ लाखबाट छहरा बजार व्यवस्थापन गरी अमलाबास धजाबान्ने र मेहलढाप जस्ता मुख्य बजार क्षेत्रको विकासमा ल्याउने योजनाका साथ कार्य अघि बढेको सभामुख घर्तीका प्रमुख स्वकीय पदम सोमैले जानकारी दिए।

बजार क्षेत्रको सडक फराकिलो बनाउन र बजेट व्यवस्थापन गर्न स्थानीय बासीले समेत पटक पटक स्थानीय र प्रदेश सरकारलाई सुझाव दिएपछि बजेट विनियोजन भएको थियो ।

स्थानीयको मागका आधारमा सुरु भएको बजार क्षेत्रको सडक विस्तारको काम समयमै सम्पन्न गर्न र गुणस्तरीय काममा जोड दिन अनुगमनलाई प्रभावकारी बनाउने गाउँपालिकाका उपाध्यक्ष तथा पालिकाका अनुगमन संयोजक युवराज थापाले बताए।

तपाईको प्रतिक्रिया