
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर पालिका भित्रका ५० जना महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यले निःशुल्क सिलाई–कटाई तालिम संचालन गर्ने भएको छ।
गाउँपालिका अध्यक्ष रुक्मागंत भट्टराईले तालिम उद्घाटन गर्दै महिलाहरूको शिक्षा, स्वास्थ्य सेवा, सम्पत्ति अधिकार, राजनीतिक सहभागिता र कानुनी सुरक्षामा गाउँपालिकाले विशेष ध्यान दिइरहेको बताउनुभयो। आयआर्जनका अवसर न्यून भएका महिलाहरू सीप सिक्नबाट वञ्चित हुने भएकाले स्थानीय सरकारको सहयोगमा यो तालिम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।
गाउँपालिका उपाध्यक्ष युवराज थापाले लैङ्गिक समानता प्राप्त गर्न समाजका हरेक क्षेत्रमा महिलालाई पुरुषसरह अवसर प्रदान गर्नुपर्ने बताउनुभयो। उहाँले शिक्षा, रोजगारी, पारिश्रमिक, नेतृत्व र समाजका अन्य संरचनामा महिलाको समान पहुँच र सहभागिता सुनिश्चित गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, सीप सिकेपछि महिलाहरूको जीवनस्तर सुधार हुने, सानो लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने र आर्थिक अवस्थामा टेवा पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा वडा अध्यक्ष गोविन्द रायमाझी, जिल्ला समन्वय समिति सदस्य विष्णु कुमारी घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन राना लगायतका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी महिला अधिकारकर्मीहरूले महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि निरन्तर आवाज उठाउनु पर्ने आवश्यकता औंल्याएका थिए।
‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने नाराका साथ ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस रैनादेवी छहरामा सम्पन्न भएको थियो।