नारी होइनन् नि भारी, नारी त सृष्टिकी सर्वोपरि

  • नारी होइनन् नि भारी।
  • नारी त सृष्टिकी सर्वोपरि।
  • आफ्ना इच्छा सधैँ मारी।
  • बन्छिन् सबैको उपकारी।

आज ११५औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। किन र कसरी? किनकि नारीलाई सुख, खुसी, शान्ति, र पुरुषसरह इज्जत तथा समानता प्रदान गर्ने उद्देश्य राखिएको छ। सन् १९०८ मा अमेरिकाको न्यूयोर्क शहरमा १५ हजार महिला श्रमिकहरूले काम गर्ने समय घटाउनुपर्ने र ज्यालामा वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन सुरु गरेपछि हरेक वर्ष मार्च ८ मा यो दिवस मनाइँदै आएको हो।

नारी समानताका कुरा उठेर प्रत्येक वर्ष नारी दिवस मनाउँदै आए तापनि कुरामा मात्र, भाषणमा मात्र, अनि किताबका ठेलीमा मात्र सीमित रहन पुगिरहेको कुरा प्रत्येक नारीले महसुस गरिरहेका छन्। कुरामा होइन व्यवहारमा लागू गर्नुपर्छ। भनाइ र गराइमा फरक छ। यो प्रकृतिमा जम्मा दुई जात छन् नारी अनि पुरुष। पुरुष सरह समानता गर्ने उद्देश्यले विभिन्न सुविधा र कोटा छुट्याइएता पनि यो कुरा आज पनि अधिकांश ठाउँमा प्रयोगमा आएको छैन। आज एउटी नारी आफ्नै घर र आफ्नै बाबाआमाबाट पनि हेपिएकी छिन्। किन त आमा र बाबाले पनि छोराछोरीलाई गर्ने व्यवहारमा परिवर्तन हामी आज पनि यस समाजमा देख्न पाइरहेका छौं। एउटा घरमा पनि छोरो अबेलासम्म सुत्छ तर छोरी भने चाँडै उठेर घरधन्दा सक्नुपर्ने यो कस्तो नियम ? के यही हो नारी समानता ? नारा लाएर, मञ्चमा गई माइक समातेर भाषण गर्दैमा नारी समानता हुने होइन जसले भाषण गर्दैछ उसैले पनि घरमा गई श्रीमती र छोरीलाई गर्ने व्यवहारमा फरक देखिन्छ।

एउटी नारी प्रकृतिकी सुन्दर र अनुपम उपहार हुन्, लक्ष्मीकी बास हुन् , सृष्टिकर्ता हुन्। जसबिना संसार उजाडिन्छ भन्ने कुरा जान्दा जान्दै पनि आज हरेक क्षेत्रबाट नारी पीडित हुन बाध्य छन्। चाहे ती घरेलु हिंसा, शोषण, दमन र अत्याचारको सिकार बन्न बाध्य छिन्। जुन नारी सृष्टि हुन् जस्तासुकै कठिन यात्रा पार गर्न सक्ने सामर्थ्य राख्दछिन् कसरी भइन् नारी गलत ? नारीको विषयमा आवाज उठाउनु ठूलो कुरा होइन। भाषण गर्नु पनि ठूलो कुरा होइन। उनीहरूको समस्या बुझी समाधानका उपाय खोज्नु ठूलो कुरा हो। नारी मानसिक तनाव चाहे शारीरिक तनाव हरेक तवरले उनी पीडित छिन्। जब नारीको जन्म हुन्छ एउटा घरमा बाबाआमाको मुखमा पनि के पायौ भन्दा सानो आवाजमा छोरी भन्छन् भने ठूलो ठूलो आवाजमा छोरा भन्छन्, अबर लगाउँछन्, पार्टी गर्छन्। जन्मेदेखि अनेक पीडा, यातना भोग्दै आफ्नो जीवनलाई छोरी, श्रीमती, बुहारी, आमा र सासु लगायतका विभिन्न चरणहरू पार गर्दै जिम्मेवारीहरू बहन गर्दै अघि बढ्छिन्।

आज पनि समाजमा तीनवटा अर्थात् पाँचवटा नै किन नहोस् छोरा पाउँदा दुःख मान्दैनन् तर छोरी एउटा मात्र पाएपछि अर्को पाउँदा फेरि पनि छोरी नै हुने हो कि भन्ने डर मान्छन्। एउटी नारीले अधिकांश समय आफ्नो घरपरिवारलाई बिताउँछिन् अफिसै गए पनि आफ्ना सम्पूर्ण कामहरू सकेर जान्छिन् तर त्यो बलिदान न त घरपरिवारले देख्छ न त समाजले नै देख्छ। मात्र नारीलाई त अनुशासित हुनुपर्छ। सभ्य हुनुपर्छ। धेरै हाँस्नुहुन्न। धेरै बोल्नु हुँदैन। धेरै हाँसेमा धेरै बोलेमा उत्ताउलो भइन्छ भन्ने तुच्छ सोच राख्दै समाज अघि बढिरहेको छ। तर पुरुष भने जिम्मेवारीमा खटे पनि हुने ,नखटे पनि हुने, अबेर घर आए पनि हुने, जोसँग हिँडे पनि हुने यावत कुराहरू ले नारीलाई आज पनि घर समाज मा बाँच्नको लागि स्वतन्त्र छैन।

घरले पनि र समाजले पनि यो त छोरा हो नि जे गरे पनि हुन्छ त त छोरी होस् अन्य सुहाउँदैन। भन्ने प्रचलन यथावत नै छ। भने कसरी भयो त नारी समानता? नारीको इच्छा हुँदैन, नारीको मन दुख्दैन, कि नारीलाई दुःखै हुँदैन त्यसैले सम्पूर्ण मानिसहरूले यो बुझ्नु जरुरी छ कि एउटा नारी भएर बाँच्न पुरुषले कदापि पनि सक्दैन। यदि सकिन्छ भने छोरीको ठाउँमा छोराले पनि भात पकाउने, लुगा धुने जस्ता अनेक कार्यहरू मा समानता हुनु जरुरी छ। परिवर्तन भन्ने कुरा राष्ट्रमा खोजेर हुँदैन। परिवार परिवार बीचको परिवर्तनबाट र सोचको परिवर्तनबाट मात्र यस्ता कुराहरु सम्भव छन्। जब कि नारी सरह सम्पूर्ण काम र कर्तव्यमा अडिक हुन सकिँदैन भने किन नारीलाई आक्षेप लगाउने। एउटी नारी घरबाट निस्केपछि बेलुका घर फर्किन्छिन् कि नाई भन्ने डर त्रास मनमा लिएर बाँच्नुपर्ने दिन छ। किन त सुनका लागि होइन, गुणका लागि पनि होइन मात्र गिद्दे नजर राख्ने पुरुष प्रधान देशले र समाजले त्यो नारीलाई घर फर्कन दिँदैनन्।

नारीप्रति हेर्ने दृष्टिकोण करिब १५० वर्ष देखि नै परम्परागत शैलीमा चलिरहेको कारण आज त्यो जरा निकै भयानक र टाढा पुगेकोले त्यो जरालाई उखेलेर फाल्न एक्लो प्रयासले हुँदैन यहाँ त ठूलो प्रयासको र ठूलो बलको आवश्यकता पर्छ। घरेलु हिंसा तथा बोक्सीको आरोप खेपेर बसेका महिला समाजमा आज पनि विद्यमान छन्। बोक्सा भन्ने नहुने तर बोक्सीको न्युमा कतिले ज्यान गुमाउनुपर्ने कुरा पनि हामी सुन्न पाइरहेका हुन्छौँ। एउटी महिला २४ घण्टामा १८ घण्टा काम गरेकी हुन्छिन् तर उनको कुनै पारिश्रमिक को मूल्य छैन। तर पुरुषले दिनको छ घण्टा काम गरी महिनामा २५/३० हजार के कमाउँछ उसले मेरो पैसा हो भने धाक लगाउँछ।

जबरजस्तीकरणी, दाइजो प्रथा, यौन शोषण जस्ता अनेकौ यातना किन महिलाले भोग्नुपर्छ र कहिलेसम्म भोग्नुपर्छ? जब प्रत्येक मानिसमा नारीप्रतिको दृष्टिकोणमा सकारात्मक सोच हुँदैन तबसम्म कुनै पनि घर, समाज तथा राष्ट्रमा नारी समानता हुनै सक्दैन। नारी पनि मान्छे हुन् उनको पनि पीडा हुन्छ। उनलाई समान व्यवहार गरौं। सबैले सम्मान गरौं स्वतन्त्र रुपमा बाँच्न दिउँ। मैले लेखिरहँदा जो जससँग सम्बन्धित छ त्यो एउटा संजोग मात्र हुनेछ यसलाई अन्यथा नसोचिदिनुहोला। यसो लेखिरहँदा पुरुषको मनमस्तिष्कमा नकारात्मक सोच अर्थात् रिस उत्पन्न होला। कृपया यसलाई अन्यथा नसोची सबै मिली नारीको इज्जत गरौं। नारीलाई पनि बाँच्न दिउँ आफू पनि बाँचौं। सभ्य परिवारको, समाजको र राष्ट्रको निर्माण गरौं।

तपाईको प्रतिक्रिया