
पाल्पा – पाल्पाको रिब्दिकोट गाउँपालिकाको समग्र विकासका विषयमा बुटवलमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा रुपन्देही जिल्लामा बसोबास गर्ने रिब्दिकोटका स्थायी बासिन्दा, स्थानीय सरोकारवालाहरू तथा गाउँपालिका प्रतिनिधिहरूबीच विकाससम्बन्धी विचार आदान–प्रदान भएको थियो।
गाउँपालिकाको समृद्धि अभियानलाई गति दिन नागरिकका सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले विकास योजनासम्बन्धी प्रस्तुत गर्दै कृषि, पर्यटन र यातायातलाई प्राथमिकतामा राखिएको जानकारी दिए। बाँझो जमिनको अधिकतम उपयोग गरी युवालाई कृषिमा आकर्षित गर्ने विशेष कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो। साथै, सम्रग रिब्दीकोट गाउँपालिकाको विकासमा बुटवलका उद्यमी तथा व्यवसायीहरूको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे।
गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले जन्मभूमिप्रति नागरिकको लगाव बढाउँदै गाउँ फर्कने अवधारणालाई प्रवर्द्धन गर्नुपर्ने बताइन्। उनले बाँझो जमिनलाई उत्पादनशील बनाउने तथा कृषिलाई आधुनिकीकरण गर्ने आवश्यकतामा जोड दिइन्।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत मणी प्रसाद खनालले अन्तरसंवादमा व्यक्त गरिएका नागरिकका सुझावहरूलाई आगामी नीति तथा योजनामा समेट्ने प्रतिवद्धता जनाए। स्थानीय सरकार र समुदायबीचको सहकार्यले मात्र समृद्धि सम्भव हुने उनको धारणा थियो।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, व्यवसायी, समाजसेवी तथा संघसंस्थाका प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र भौतिक पूर्वाधारको सन्तुलित विकास अनिवार्य रहेको बताए। उनीहरूले स्थानीय जनताको सक्रिय सहभागिता बिना दीगो विकास सम्भव नहुने भन्दै सबै पक्षको समावेशी सहभागितामा जोड दिए।
अन्तरसंवाद कार्यक्रमले रिब्दिकोट गाउँपालिकाको विकास योजनामा नागरिकको सहभागिता बढाउने अवसर प्रदान गरेको तथा विकासका प्राथमिकताहरूलाई थप स्पष्ट बनाएको सहभागीहरूको निष्कर्ष थियो।