कालीगण्डकी करिडोरमा काम गर्ने दुई जनाको शव फेला

तानसेन। कालीगण्डकी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पालपाका अनुसार बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा सिन्धुलीको गोलाचौर गाउँपालिका -६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसिपुर उपमहानगरपालिका-३ का ४५ वर्षीय तेजबहादुर रास्कोटीको शव फेला परेको हो। दुवै जना मृतक कालीगण्डकी करिडोर सडक खण्डमा काम गर्दै आएका कामदार रहेको प्रहरीले जनाएको छ ।

मृतक अस्लामी बगनासकाली गाउँपालिका -६ दर्पुकस्थित कालीगण्डकी करिडोर सडक खण्डको अस्थायी क्याम्पमा बसी सोही सडक खण्डमा डोजर अप्रेटरको काम गर्दै आए थिए । गत फागुन २६ गते बेलुका खाना खाई साथीहरुसँगै क्याम्पमा सुतेका अस्लामीलाई २७ गते बिहान हेर्दा विस्तारामा नभएको र खोजतलास गर्दा ५ दिनपछि शनिबार राति मृत अवस्थामा भेटिएका हुन् । अस्लामीलाई खोजतलासको क्रममा माईचौरस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

यस्तै अर्का मृतक रास्कोटी राम्दी–रानीमहल निर्माणाधीन कालीगण्डकी करिडोर सडकमा काम गर्दै आएकोमा नदी किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनलाई खोजतलास गर्ने क्रममा घटनास्थलदेखि दुई सय मिटर तल मृत अवस्थामा फेला पारिएको प्रहरी नायव उपरीक्षक मल्लले बताए।

अस्लामीको शवलाई पोष्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौं र रास्कोटीको शवलाई पाल्पा अस्पताल पठाइएको छ । दुवै घटनाको विषयमा अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया