
पाल्पा–त्रिभुवन बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरू चुनावी अभियानमा तिव्र रूपमा सक्रिय छन् । अखिल क्रान्तिकारीका तर्फबाट सभापतिका उम्मेदवार मिलन घर्ती मगरले आफ्नो प्यानल विजयी हुने दाबी गर्दै विद्यार्थीहरूलाई संगठित हुन आग्रह गरेका छन् ।
विद्यार्थीहरूको हकहितका लागि निरन्तर संघर्षरत रहँदै आएका घर्तीले शिक्षामा गुणस्तर सुधार, शुल्क वृद्धिको विरोध, तथा विद्यार्थी कल्याणका पक्षमा आफू कटिबद्ध रहेको बताएका छन् । उनले भने,“विद्यार्थीका जायज मागहरू पूरा गराउन प्रशासनसँग वार्ता गर्ने र समस्या समाधान गर्ने मेरो प्राथमिकता रहनेछ ।”
अखिल क्रान्तिकारी संगठनले विगतदेखि नै विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसै सन्दर्भमा, प्रगतिशील विद्यार्थी संगठनको समर्थन गर्नेहरूलाई मिलन घर्ती मगरलाई मतदान गर्न अपिल गरिएको छ ।
उनले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका विद्यार्थीहरूको समस्या सम्बोधन गर्ने, अध्ययन वातावरण सुधार गर्ने तथा शैक्षिक गुणस्तर वृद्धिमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्ववियु सभापति विद्यार्थीहरूको प्रतिनिधि हो, जसले प्रशासनसँग विद्यार्थी पक्षको आवाज उठाउनु पर्छ ।
उनले भने, “मैले सधैं विद्यार्थीहरूको समस्यालाई प्राथमिकता दिएको छु, भविष्यमा अझ प्रभावकारी रूपमा काम गर्नेछु ।” विद्यार्थीहरूको ठूलो समर्थन रहेको दाबी गर्दै घर्तीका कार्यकर्ताहरूले अत्यधिक बहुमतले जित्ने दाबी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पदम सोमैले बताए ।