
तानसेन। पाल्पाका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त पाँच वटा क्याम्पसमध्ये त्रिभुवन बहुमुखी क्याम्पस तानसेन र शहीद बहुमुखी क्याम्पस रामपुरमा बिहान ८ बजैदेखि सुरु भएको मतदान बेलुका ४ बजेपछि सम्पन्न भएको हो।
दुवै क्याम्पसमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन अधिकृतहरुले जनाएका छन् । देशकै पहिलो (जेठो) क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा १ हजार ८ सय ९४ मतदाता मध्ये १ हजार २ सय २८ जनाले मतदान गरेका छन् । यो ६३.८३ प्रतिशत हो ।
यस्तै शहीद बहुमुखी क्याम्पस रामपुरमा सात सय १५ मतदाता मध्ये ५ सय ७१ जनाले मतदान गरेका छन् । यहाँ झण्डै ८० प्रतिशत मतदान भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि त्रिभुवन बहुमुखी क्याम्पसमा चार वटा बुथमा विभिन्न संकायका विद्यार्थीले शान्तिपूर्ण रुपमा मतदान गरेको क्याम्पस प्रमुख टंक पन्थले जानकारी दिए।
रामपुरमा बुलुका ७ बजे र तानसेनमा बेलुका आठबजेदेखि मत गणना हुने बताइएको छ । शहीद बहुमुखी क्याम्पस रामपुरमा स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) प्यालन बिच प्रतिस्पर्धा हुनेछ ।
सभापति, सचिव र कोषाध्यक्षमा २।२ जनाको उम्मेदवारी रहेको निर्वाचन अधिकृत त्रिविक्रम खनालले जानकारी दिए। यस्तै त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा यस पटक नेपाल विद्यार्थी संघ र अखिल छैठौ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, अनेरास्ववियू (स्वतन्त्र) प्यानलसहित प्रतिस्पर्धामा छन् ।
सभापतिमा ४, सचिवमा ३ र कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी रहेको छ । अखिल छैटौले नेपाल विद्यार्थी संघसंग गठबन्धन गरेर चुनावी माहोलमा हामिएका छन् । निर्वाचनमा उत्साहजनक रुपमा विद्यार्थीहरु सहभागी भएपछि संगठनका नेताहरुले आफ्ना उम्मेदवारले विजयी हासिल गर्ने दावी गर्दै आएका छन् ।