
पाल्पा- रामपुरस्थित सहिद बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट अनेरास्ववियुका राजन गौतम सभापतिमा विजयी भएका छन् भने सचिवमा अखिल संयुक्त प्यानलबाट विमल क्षेत्री निर्वाचित भएका छन्।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानलबाट उम्मेदवारी दिएका गौतम ३०१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार कसम मल्ल ठकुरीलाई ४० मतले पराजित गरेका हुन्। मल्लले २६१ मत प्राप्त गरेका थिए। सचिवमा अखिल संयुक्त प्यानलका विमल क्षेत्री २८२ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी बन्दना गैह्रेले २७७ मत प्राप्त गरिन्।
कोषाध्यक्षमा संयुक्त प्यानलका सच्चा रेग्मी २९९ मतसहित विजयी भए भने नेविसंघकी धनकला रानाले २५६ मत प्राप्त गरी निर्वाचित भइन्।
प्रत्यक्षतर्फ सदस्य पदमा नेविसंघबाट २७३ मत प्राप्त गर्दै सदिक्षा ढकाल, संयुक्त प्यानलबाट २६३ मतसहित निरुता ढेंगा, नेविसंघबाट २६१ मतसहित सविना भण्डारी, नेविसंघबाट २६० मतसहित शशी ढकाल तथा संयुक्त प्यानलबाट २६० मत प्राप्त गर्दै इन्द्र बहादुर सोती निर्वाचित भए।
निर्वाचनमा कुल ७१५ मतदाता रहेकामा ५७१ मत खसेको थियो। समानुपातिकतर्फ नेविसंघले २७० मत र अनेरास्ववियुले २९९ मत प्राप्त गरेको छ।
मतगणनाका क्रममा मंगलबार राति केही मत गणना गर्न बाँकी रहँदा प्रक्रिया स्थगित गरिएको थियो। सर्वदलीय बैठकपछि बुधबार साँझ ८ बजेदेखि पुनः मतगणना कार्य सुरु भएको थियो।
मतदान सम्पन्न भइसकेपछि मतगणनाका क्रममा उत्पन्न विवादका कारण नेविसंघका प्रतिनिधिहरू गणनास्थलबाट बाहिरिएको थियो। बाहिरी वातावरण असहज बनेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको थियो।
सहिद बहुमुखी क्याम्पसमा २०४८ सालदेखि नेविसंघले नेतृत्व गर्दै आएको इतिहास छ। यस निर्वाचनमा अनेरास्ववियु नेतृत्वको संयुक्त प्यानलले विजय हासिल गरेसँगै क्याम्पसको नेतृत्व फेरिएको छ।