परीक्षामा दृष्टिबिहीनलाई प्रविधिको समस्या

तानसेन। संचालनमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईमा सहभागी दृष्टिबिहीन विद्यार्थीले प्रविधिको विकास नहुँदा परीक्षा दिन समस्या भएको बताएका छन् ।

सरकारले फरक क्षमता भएका विद्यार्थीलाई उचित प्रविधिको विकास गर्न नसक्दा सहयोगी राखेर परीक्षा दिनु परेको गुनासो उनिहरुको छ । सहयोगी विद्यार्थी राख्दा उत्तर लेखाइमा समस्या हुने गरेको उनीहरुले बताएका छन् ।

सरकारले दृष्टिबिहीन विद्यार्थीका लागि छुट्टै पाठ्यक्रमको व्यवस्था गरी सोही अनुसारको उत्तर पुस्तिका व्यवस्था गर्नुपर्ने उनीहरुले बताएका हुन् ।

पाल्पाबाट यो वर्ष दुइ जना दृष्टिबिहीनसहित चार हजार ९१० जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् । जिल्लाका दश स्थानीय तहका २६ वटा परीक्षा केन्द्रमा दुई हजार ३ सय ५८ छात्र तथा दुई हजार ५ सय ५२ छात्रा परीक्षामा सहभागी रहेकाे शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाका प्रमुख प्रेमराज खरेलले बताए ।

पाल्पामा सामुदायिक विधालयतर्फ  दुई हजार ४४ छात्र र दुई हजार ३ सय ४५ छात्रा छन् । यस्तै संस्थागत विद्यालयका ५ सय २१ जना विद्यार्थीहरु मध्ये छात्र ३ सय १४ र छात्रा २ सय ७ जना रहेका छन् । नियमित अन्तगर्तत साधारणतर्फ ३ हजार ५ सय ४ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुँदै छन् । जहाँ एक हजार ७ सय १५ जना छात्र र एक हजार ७ सय ८९ जना छात्रा रहेको जनाइएको छ ।

यस्तै प्राविधिकतर्फ २ सय २८ जना रहेका छन् । जहाँ एक सय ३ जना छात्र र एक सय २५ जना छात्रा रहेका छन् । यस वर्ष ग्रेड वृद्धिको साधारणतर्फ एक हजार एक सय ३० विद्यार्थी रहेका छन् । जसमा ५ सय १३ छात्र र ६ सय १७ जना छात्रा रहेका छन् । यस्तै प्राविधिकतर्फ ४८ जना रहेका छन् । जसमा छात्र २७ र छात्रा २१ छन् ।

परीक्षाको लागि २६ जना केन्द्राध्यक्ष, ३० जना सहायक केन्द्राध्यक्ष, २ सय ४६ निरीक्षक, ५० जना परीक्षा सहायक, ९८ जना विद्यालय सहयोगी र ३ सय ९० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया