रिब्दीकोटमा थाइराइड जाँच सम्बन्धि सेवा सुरु

तानसेन। खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा थाइराइड सम्बन्धी सम्पूर्ण परीक्षण सेवा सुरु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं.३ मा रहेको खस्यौली प्रास्वाकेमा संघीय सरकारबाट प्राप्त मेसिनबाट सेवा सुरु भएको हो।

सेवाकाे शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सेवा थप गरेर नागरिक तहमा सहज स्वास्थ्य परीक्षण गर्न पालिकाले पहल गर्ने बताए।

अध्यक्ष कार्कीले थाइराइड जाँचको सेवा नुहँदा बिरामीहरु अन्यन्त्र जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताउँदै अन्य स्वास्थ्य संस्थामा परीक्षण गर्दाको नतिजासंग फरक नपर्ने गरी सेवाको गुणस्तर र विश्वासयोग्य बनाउनु पर्नेमा जोड दिए। आफू निर्वाचित भएदेखि नै समग्र गाउँपालिको स्वास्थ्यमा नागरिकको सहज पहुँच वृद्धिका लागि काम गरिरहेको बताउँदै अध्यक्ष कार्कीले कम जनशक्ति र पूर्वाधारको बिचमा गुणस्तरीय सेवा विस्तारका लागि पहल गर्ने बताए।

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले थाइराइड परीक्षण सेवाका बारेमा ग्रामीणस्तरसम्म प्रचार गर्नुपर्ने बताइन् । उनले सेवा सुरु भएपछि आगामी दिनमा समयमै रोगको पहिचान गर्न सहज हुनुका साथै आर्थिक रुपमा समेत नागरिकलाई फाइदा पुग्ने विश्वास व्यक्त गरिन।

प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले सेवा सुरु भएपछि नागरक तहममा सहजता आएको भन्दै सेवालाई दीगो बनाउनु पर्नेमा जोड दिए। उनले पछिल्लो समय नसर्ने रोगाको बढ्दो जोखिम रहेकोले थाइराइड जाँच सेवाले नसर्ने रोगबाट हुनसक्ने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष ओम प्रसाद पोख्रेल, गाउँपालिका स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीलगायतले सेवा थप भएकोमा खुसी व्यक्त गर्दै पाल्पाको पश्चिम भेगसहित छिमेकी जिल्लाका नागरिकले पनि सहज रुपमा सेवा लिन पाउँदा स्थानीय सरकार भएको अनुभूति गर्ने विश्वास व्यक्त गरे।

खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.चुडामडी रेग्मीले स्वास्थ्य सेवा विभागबाट थाइराइड जाँच गर्ने मेसिन ल्याउन सफल भउकोले सेवा सुरु गरिएको बताए। स्थानीय, प्रदेश र संघीय सरकारसंगको समन्वय र सहकार्यमा स्वास्थ्य केन्द्रलाई देशकै एउटा नमुना स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने लक्षका साथ आफूले काम गरिरहेको प्रमुख रेग्मीले बताए।

स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष तथा ३ नं. का वडाअध्यक्ष नारायणबहादुर केसीले स्वास्थ्य केन्द्रबाट थाइराइड जाँचको सेवाका लागि स्वास्थ्य बिमा भएका बिरामीका लागि निःशुल्क र बिमा नभएका बिरामीलाई न्यूनतम शुल्क तिर्नुपर्ने बताए।

सेवालाई प्रभावकारी बनाउन उपलब्ध पूर्वाधारको व्यवस्थापन गर्ने काम भैरहेको पनि अध्यक्ष केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer