
पाल्पा । पाल्पामा क्रिएटिभ कम्प्युटर कन्सल्टद्वारा विद्यार्थीहरुसँग शैक्षिक परामर्श (वृत्तपथ अभिमुखीकरण) कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै सेन माध्यमिक विद्यालयका शिक्षक कमल अर्यालले थ्री इडियट चलचित्रलाई जोड्दै चलचित्रको पात्र फराहान जस्तो बन्न प्रेरणा साथै शुभकामना व्यक्त गरे ।
विद्यार्थीहरूले कुन सीप र शिक्षा सिक्दा राम्रो हुन्छ साथै अहिलेको परिस्थितिमा आफूलाई बजारमा बिकाउन के गर्नु पर्छ भन्नेबारे अभिमुखीकरण तालिमले यस कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रमका अध्यक्ष अर्जुन घिमिरेले बताए ।
सो कार्यक्रममा बोल्दै, दमकडा माध्यमिक विद्यालयका शिक्षक धनपति गैरेले विद्यार्थीको सफल र समृद्ध भविष्यका लागी क्रिएटीभीटी आवश्यक पर्ने बताए । पन्थी भन्छन्,“हामीले विद्यार्थीहरूलाई नम्बर ल्याउन सक्ने बनायौं तर, बाँच्न सक्ने बनाउन असफल रह्यो ।”
अभिमुखीकरण कार्यक्रमका प्रशिक्षक सुशीला पौडेलले जीवनको मार्गमा आफ्नो वृत्त पथ छनोट गर्दा आफ्नो खुबी र रुचिलाई बुझेर मात्र रोज्नुपर्ने बताइन् । पौडेल भन्छिन,“आफ्नो करियर बनाउने क्रममा विभिन्न परिस्थितिहरूसँग सामना गर्नका लागि ब्याकअप सिपको विकास गर्न अत्यावश्यक हुन्छ । यदि यसो भएन भने आफू मार्केटमा बिक्न गाह्रो पर्ने गर्छ ।”
आफ्नो जीवन र वृत्तिलाई सार्थक बनाउन पहिले आफूलाई बुझ्नुपर्ने अनि मात्र कामको संसारलाई बुझेर त्यसमा आफ्नो वृत्ति विकासलाई अगाडि बढाउनुपर्ने उनले बताइन् ।
यस अभिमुखीकरण कार्यक्रममा सहभागी भए पश्चात आफ्नो व्यक्तित्व विकास र वृत्ति छनोटमा धेरै सहजता प्रदान भएको कार्यक्रमका सहभागीले बताए । क्रिएटिभ कम्प्युटर कन्सल्टका प्रबन्धक अर्जुन घिमिरेको प्रमुख अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।