रामपुरमा सहकारी सुशासन अभिमुखीकरण

रामपुर । रामपुर नगरपालिकाले नगर भित्रका सहकारी संस्थाहरुलाई सहकारीमा सुशासन सम्बन्धि अभिमुखीकरण प्रदान गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शुक्रबार नगर भित्र सञ्चालनमा रहेका सहकारीका सञ्चालक समिति र कर्मचारीहरुलाई अभिमुखिकरण प्रदान गरेको हो ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड र लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडको प्राविधिक सहयोग, जिल्ला बचत तथा ऋण सहकारी संघ, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र रामपुर बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा कार्यक्रम गरी अभिमुखिकरण प्रदान गरेको हो।

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी थापाले कार्यक्रमको उट्घाटन गर्दै सहकारीप्रति सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक रहेको बताए।

ऋण लगानीको क्रममा ख्याल नगर्दा सहकारीहरुमा समस्या देखिएको भन्दै थापाले विशेष ख्याल गरेर जुन उद्देश्यका लागि ऋण प्रदान गरिएको हो सोही अनुसार अनुगमन पनि गर्नु आवश्यक रहेको बताए। बजार क्षेत्रमा सिमित व्यक्तिहरुले सञ्चालन गरेका सहकारीमा समस्या देखिएकाले अन्य स्थानका सहकारीलाई समेत असर गरेको प्रमुख थापाले बताए।

रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम मार्फत उद्यमीहरुलाई व्याज अनुदान प्रदान गर्दै आएको जानकारी दिदै नगरपालिका सहकारी संग सहकार्य गरेर अघि बढ्न तप्पर रहेको उनको भनाइ थियो ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्‌स्कुन) का अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक र सहकारी विचको फरक के हो भन्ने विषयमा बहस हुनु आवश्यक रहेको बताउनुभयो । सहकारीको विकल्प सहकारी नै भएको बताउँदै राज्यले व्यवस्था गरेको नीति नियममा रहेर सुशासन कायम गर्न सके सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने बताए। उनले सरकारले जारी गरेको ऐन लागू भएमा सहकारी भित्रको विकृति अन्त्य हुने बताए। पछिल्लो पटक भएको सहकारी ऐन तथा प्रतिस्थान विद्येयक सहकारीको विकासको पक्षमा रहेको स्पष्ट पारे।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नीति नियम र व्यवस्था अनुसार सहकारी कसरी चलेको छ भन्ने विषयमा स्वमुल्याङ्कन गर्ने समय आएको बताइन् । नगर भित्र सञ्चालनमा रहेका सहकारीहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पहल गर्दै आएको बताइन् । उनले विशेष ख्याल गरेर मात्र ऋण लगानी गर्न आग्रह पनि गरिन् ।

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद नेपालले संघमा आवद्ध हुन आग्रह समेत गरे । कार्यक्रममा नेफ्स्कुनका वरिष्ठ अधिकृत नवीनराज दहालले सहकारी सञ्चालनको लागि गरिएको व्यवस्था, व्यवस्थित रुपमा सहकारी सञ्चालन गर्ने तरिका, संशोधन सहितको सहकारी ऐन, प्रतिष्ठापन विद्येयक लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।

जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटाले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव वसन्त प्रसाद ढकालले गरेका थिए । नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रममा रामपुर नगर भित्र रहेका सहकारी संस्थाका अध्यक्ष तथा पदाधिकारी र व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया