तानसेन नगरपालिका वडा नम्बर ७ समुदाय मेलमिलाप केन्द्रको भेला

तानसेन । तानसेन नगरपालिका वडा नम्बर ७ समुदाय मेलमिलाप केन्द्रको वडा भेला सम्पन्न भएको छ । उक्त भेला तानसेन नगरपालिका न्यायिक समिति र सामुदायिक मेलमिलाप केन्द्र वडा नं ७ को समन्वयमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा, समाजलाई शान्त सुसंस्कृत र समृद्ध बनाउन न्यायिक समितिले निरन्तर पहल गर्ने तानसेन नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक प्रतीक्षा गाहा सिङ्जालीले बताइन् । गाहा भन्छिन् “आर्थिक र भौतिक झन्झटबाट टाढा रहेर जनतालाई घरघरमा गएर न्यायको प्रत्याभूत गराउनु नै न्यायिक समितिको प्रमुख उद्देश्य हो ।”

मेलमिलापकर्ताहरूले दिने सेवा भनेको स्वयंसेवकको रुपमा रहेर दिने सेवा हो। हरेक वडाका मेलमिलापकर्ताहरू दक्ष र तालिम प्राप्त हुनुहुन्छ ।  तानसेन नगरपालिकाभित्रबाट अत्याधिक मुद्दाहरू वडा नम्बर ७ मा आउने गरेको र आएकामध्ये धेरै मुद्दाहरू मेलमिलाप भइसकेको उनले बताइन् । गाहाले, वडा नम्बर ७ का मेलमिलापकर्ताहरू निकै सक्रिय र जुजारु मेलमिलापकर्तामध्ये पर्ने कुरा पनि उल्लेख गरिन् ।

हरेक वडाका सामुदायिक मेलमिलाप केन्द्रले छलफल गराउने मुद्दा वा निवेदन हरूबारे सबैजना स्पष्ट हुनुपर्ने कार्यपालिका तथा न्यायिक समिति सदस्य सबीता भट्टराईले बताइन् । भट्टराई भन्छिन्“सामुदायिक मेलमिलाप केन्द्र भनेको निष्पक्ष निर्णय गर्ने एक स्थानीय अदालतका रूपमा रहँदै आएको छ ।”

सो कार्यक्रममा, न्यायिक समिति एउटा नियममा टेकेर निष्पक्ष निर्णय गर्ने समितिका रूपमा रहेको वडा नम्बर ७ का वडा अध्यक्ष प्रदीप खनालले बताए । खनाल भन्छन् “स्थानीयहरूलाई सिस्टम सिकाउन र सिस्टम बारे जानकारी गराउन वडामा आएका निवेदनहरू पनि मेलमिलाप केन्द्रमा पठाउने गरेको छु। ”

यो कार्यक्रम एउटा जानकारीमूलक र सबैलाई सुसुचित गर्ने कार्यक्रम रहेको सामुदायिक मेलमिलाप केन्द्र वडा नं ७ का संयोजक टोपलाल पन्थले बताए । उक्त कार्यक्रम सामुदायिक मेलमिलाप केन्द्र वडा नं ७ का संयोजक टोपलाल पन्थको प्रमुख अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया