फोक्केआँप कृषि सहकारीका सदस्यलाई कृषि उद्यमशीलता तालिम

पाल्पा । रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ स्थित फोक्केआँप कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूलाई लक्षित गर्दै कृषिमा उद्यमशीलता भन्ने नारासहित एकदिने तालिम सम्पन्न गरेको छ ।

फार्मर्स ग्रुप लिमिटेडको सहकार्यमा आयोजित उक्त तालिमले कृषकहरूको आयआर्जन वृद्धिमा टेवा पु¥याउने विश्वास गरिएको छ । तालिममा फार्मर्स ग्रुप लिमिटेडका प्रशिक्षक मेघनाथ गिरी र रामप्रसाद रिजालले प्रशिक्षण दिएका थिए । प्रशिक्षक गिरीले अर्गानिक खेतीको महत्व र खेर गएका तरकारीहरूको सदुपयोगको उपायहरूबारे जानकारी दिए । उनले भने, “बन्दागोभी, फूलगोभी लगायतका तरकारी खेर जान नदिई सुकाएर मसेउरा, सिन्की, गुन्द्रुक, अचार लगायत परिकार बनाएर प्याकेजिङ गरी बजारमा बेच्न सकिन्छ।“

गिरीले उत्पादन भएका वस्तुहरूको खरिद–बिक्रीमा बिचौलियाको भूमिका नहुने र सिधै फार्मर्स ग्रुपद्वारा खरिद गरिने जानकारी दिए। साथै, निकट भविष्यमा फोक्केआँप कृषि सहकारीसँग औपचारिक सम्झौता गरी कार्यक्रमलाई थप विस्तार गरिने बताए । कार्यक्रममा, सहभागी कृषकहरूले कार्यक्रम निकै प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यस्तो तालिमले कृषकलाई आत्मनिर्भर बनाउँदै खेर जाने सामग्रीको सदुपयोग गर्ने प्रेरणा दिएको जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का वडा अध्यक्ष एवं सहकारीका संस्थापक अध्यक्ष प्रदीप पौडेलले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने र जीवनशैलिमा परिर्वतन देखिनुपर्ने बताए । तालिमको प्रभावमा मानिसको जीवन परिवर्तन हुनुपर्छ भन्ने हो, आम्दानीसँगै जीवनशैलिमा परिवर्तन गर्न तालिम दिएको पौडेलले बताए ।
तालिम कार्यक्रम सहकारीका अध्यक्ष ठडबहादुर खाम्चाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन रामप्रसाद न्यौपानेले गरेका हुन ।

 

तपाईको प्रतिक्रिया