कानून अनुसार काम नहुँदा व्यवस्थामाथि प्रश्न उठ्न थाल्याेः सभामुख घर्ती

तानसेन।  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले संविधान अनुसार कानून कार्यान्वय हुन नसक्दा व्यवस्थामाथि प्रश्न उठेको बताएका छन् । उनले शासकको कार्यशैली सुधार हुन नसक्दा गणतन्त्रमाथि प्रश्न उठेको दावी गरे।

शुक्रबार पाल्पामा आयोजित प्रदेश सभासंग स्थानीय सभाको कानून निर्माण सम्बन्धी छलफलपछि पत्रकार भेटघाटमा बोल्दै सभामुख घर्तीले जनप्रतिनिधि र सरकारको नेतृत्व गर्नेले पनि कानून निर्माण र संघीयताको मर्मअनुसार काम गर्न नसकेको हुँदा जनताको असन्तुष्टि बढेको बताए।

शासन प्रणालीमा व्यवस्थापन सहि नहुँदा प्रश्न उठ्ने गरेको भन्दै उनले संघीयता माथी नै गम्भीर प्रश्न उठेको हुँदा त्यसको समीक्षा गर्नुपर्ने बताए । संघीयताको सिद्धान्त र मर्मलाई नबुझेर काम गर्दा संघीयतामाथी नै प्रश्न उठ्ने गरेको उनले बताए । सभामुख घर्तीले संघीयतालाई कार्यान्वयन गर्ने लक्ष्यका साथ प्रदेश सभा स्थानीय तहसम्म पुगेर सहजीकरण गरिरहेको बताए ।

“आजसम्म स्थानीय तहले के के कानुन बनाए भन्ने प्रदेश सभालाई थाहा छैन । स्थानीय तहले सरकार सञ्चालन ऐनलाई टेकेर सभा सञ्चालन गरिरहेका छन् । कानुन निर्माण गर्ने अर्कै ऐन छ, त्यसलाई स्थानीय तहले पत्तै पाएका छैनन् ।” उनले भने । स्थानीय तहले कपी पेष्ट गरेर कानुन बनाउने प्रचलन व्यापत रहेको उनको भनाई छ । “स्थानीय तहले कानुन पारित गरेपछी एक प्रति प्रदेश सरकारलाई पठाउनु पर्छ तर कसैले पठाउने गरेका छैनन्।” उनले भने।

सभामुख घर्तीले स्थानीय तहमा कानून बनाउन पर्याप्त छलफल नहुने गरेको र ऐन भन्दा दश गुना बढी कार्यविधि बनाएर काम गर्ने अभ्यास स्थानीय तहमा रहेको बताए ।

नियम अनुसार, गठन आदेश अनुसार आर्थिक दायित्व सिर्जना गर्न नपाइने व्यवस्था छ । तर काम भैरहेको छ । प्रदेश सरकारले प्रदेश सुशासन ऐन ल्याए पनि स्थानीय सरकारले ल्याउन नसकेकाे सभामुख घर्तीले बताए। त्यसका लागि स्थानीय तहसंग कानून निर्माणका लागि छलफल गरिएकाे उनले बताए।

सो बखत संचारकर्मीहरुले प्रदेश र स्थानीय तहहरुले मुल कानुन विना अन्य कानून तयार गरेर काम गरेको गाउँ र नगर सभा संचालन गर्न समेत नसकेको विषयमा सहजीकरण गर्नका लागि प्रदेशसभालाई सुझाव दिएका थिए।

 

तपाईको प्रतिक्रिया