रिब्दीकोटमा पूर्ण संस्थागत प्रसुति सेवायुक्त एवं पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा

तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा भएको छ। बुधबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर, जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष टंकनाथ खनाल, सदस्य सचिव तथा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल, स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीलाई प्रमाणपत्र प्रदान गरी पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका भएको घोषणासहित प्रमाणपत्र प्रदान गरिएको हो ।

यो सँगै पाल्पाका पाँच वटा गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरिएको छ । यसअघि पहिलो पटक पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा भएको थियो । यस्तै रम्भा, बगनासकाली र माथागढी गाउँपालिका पनि पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा भएका थिए ।

घोषणा सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले स्वास्थ्य क्षेत्रसंगै मानसिक र बैद्धिक विकासमा जोड दिनुपर्ने बताए । उनले स्वास्थ जीवनशैली अपनाएर भान्सा सुधारदेखि आहार, विहारका क्षेत्रका सुधारको जरुरी रहेको उल्लेख गरे। स्वास्थ्य सेवाहरु विस्तार हुनु राम्रो भएको बताउँदै उनले स्थानीय तहहरुले सचेतना र सेवाहरुबाट अस्पतालमा बिरामी संख्या बढ्न र औषधिको प्रयोग बढ्न दिन नहुने उल्लेख गरे।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले सामाजिक क्रियाकलापदेखि हरेक क्षेत्रमा स्वस्थ रहेर मात्रै समग्र क्षेत्रको विकास हुने बताए । उनले स्वास्थ्यकर्मीको व्यवहारदेखि सामाजिक पदधारण गर्ने व्यक्ति तथा सबै क्षेत्रका मानिसहरु सामाजिक र मानसिक रुपमा स्वस्थ हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले आफूहरु निर्वाचित भएदेखि नै पालिकाका नागरिकको स्वास्थ्य चासो राखेर विभिन्न स्वास्थ्यका कामहरु अघि बढाएको बताए। उनले स्वास्थ्य इकाई थप गर्ने, कर्माचारी र उपकरण विस्तार तथा शिविर अन्य माध्यमबाट पालिकाको नागरिकको स्वास्थ्यमा चासो दिएको बताए ।

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनाल, गाउँपालिकाका पूर्वअध्यक्ष नारायण बहादुर जीसी, उपाध्यक्ष लक्ष्मी खनाल, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेललगायतले गुणस्तरीय आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकासको माध्यमद्धारा समृत रिब्दीकोट बनाउने योजनामा प्रजनन स्वास्थ्यको क्षेत्रमा भएको प्रगतिले थप सहयोग पुग्ने बताएका थिए ।

रिब्दीकोट गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त घोषणाका लागि यहाँका आठ वटै वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थितिमा पञ्चेबाजा बजाएर र्यालीसमेत निकालेका थिए ।

सचेतनामुलक र्याली सिलाङ्थोकदेखि हार्थोक हुँदै गाउँपालिकासम्म पुगेको थियो । सोही अवसरमा रिब्दीकोट गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणासहित प्रमाणपत्र प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए।

रिब्दीकोट गाउँपालिकाको खस्यौली, फेक, पालुङमैनादी, कुसुमखोलामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सेवा रहेको छ । एक वर्षको अवधिमा १९३ जनामा १९२ जनाले प्रोटोकल अनुसार चार पटक गर्भ जाँच गरेका थिए भने सत प्रतिशत गर्भवती महिलाले दक्ष प्रसुतिकर्मीको उपस्थितिमा स्वास्थ्य संस्थामै प्रसुति गराएका छन् ।

विगत तीन वर्षदेखि कुनै पनि महिलाले घरमा, बाटोमा र साथै अन्य स्थानमा प्रसुति गराएका छैनन् । स्थानीय तह घोषणा गर्न तोकेको मापदण्ड निर्देशिकाले चार पटक गर्भजाँच कम्तीमा ९० प्रतिशत हुनुपर्ने, सुत्केरी भएका मध्ये ९५ प्रतिशत महिलाले दक्ष प्रसुतिकर्मीहरुको उपस्थितिमा स्वास्थ्य संस्थामै प्रसुति हुनुपर्ने, घरमा हुने प्रसुति शुन्य हुनुपर्ने र प्रसुति पछि पनि ९० प्रतिशतले जाँच हुनुपर्ने उल्लेख छ ।

कार्यक्रमको अवसरमा महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य क्षेत्रका कर्मचारी र अन्य सहयोगी निकायलाई सम्मान तथा विभिन्न विद्यालयबाट सास्कृतिक प्रस्तुति समेत रहेको थियो।

तपाईको प्रतिक्रिया