
पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७ डबका निवासी निवृत्त शिक्षक ईमानसिंह कुँवरले आफ्नो ८४ औँ जन्मोत्सव तथा चौरासी पूजाको पूर्व सन्ध्यामा शिक्षा क्षेत्रप्रतिको अगाध समर्पणको सन्देश दिने गरी सात वटा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन ।
कुँवर दम्पती (ईमानसिंह कुँवर र श्रीमती हिराकुमारी कुँवर) द्वारा स्थापित उक्त अक्षयकोष अन्तर्गत प्रति विद्यालय रु २५,००० का दरले जम्मा रु १,७५,००० बराबरको अक्षयकोष रकम प्रदान गरिएको हो । यो कोषबाट प्राप्त हुने व्याज रकमले आर्थिक रूपमा कमजोर, जेहेन्दार, अभिभावक गुमाएका वा विशेष परिस्थितिमा परेका विद्यार्थीहरूलाई वार्षिकोत्सवको अवसरमा सम्मान स्वरूप छात्रवृत्तिको रूपमा वितरण गरिनेछ ।
वि.सं. १९९९ सालमा जन्मिएका कुँवरले वि.सं. २०२२ सालमा भवानी माध्यमिक विद्यालय, कुसुमखोला, पाल्पाबाट औपचारिक शिक्षण यात्राको थालनी गरेका थिए । उनले आफ्नो जीवनकालमा चण्डिका भवानी मावि, पालुङ्ग (रिब्दीकोट–७), ज्ञानोदय मावि, ओखलढुंगा (तिनाउ–१), दुर्गा भवानी मावि, देउराली (रिब्दीकोट–६), ताल्तङ्ग मावि, पेलाचौर (रिब्दीकोट–८) लगायतका विद्यालयहरूमा शिक्षकको रूपमा योगदान दिएका छन् ।
उनीले श्री सोमहर आधारभूत विद्यालय, रिब्दीकोट–८, सोमहर फेकमा झण्डै साढे तीन दशकसम्म प्रधानाध्यापकको रूपमा सेवा गर्दै ४१ वर्ष ३ महिना १५ दिनको आफ्नो शिक्षण जीवनलाई समर्पण गरेका थिए । उनले वि.सं. २०६३ सालको पौष १६ गते सेवानिवृत्ति पाएका थिए ।
इमानसिंह कुँवरले शिक्षाको अन्धकार युगमा समाजलाई उज्यालो तर्फ डो¥याउने अथक प्रयास गरेका छन् । सेवानिवृत्त जीवनयापन गरिरहे पनि उनले सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमार्फत गाउँघरका मौलिक कथा, ऐतिहासिक तथ्य र सामाजिक सन्देशहरू प्रस्तुत गर्दै आएका छन् ।
कुँवरको शिक्षण जीवनसँग प्रत्यक्ष सम्बन्ध भएका सात विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो । श्री भवानी माध्यमिक विद्यालय, कुसुमखोला, रिब्दीकोट–७, श्री चण्डिका भवानी माध्यमिक विद्यालय, पालुङ्ग, रिब्दीकोट–७, श्री ज्ञानोदय माध्यमिक विद्यालय, ओखलढुंगा, तिनाउ–१, श्री दुर्गा भवानी माध्यमिक विद्यालय, देउराली, रिब्दीकोट–६, श्री ताल्तङ्ग माध्यमिक विद्यालय, पेलाचौर, रिब्दीकोट–८, श्री कालिका माध्यमिक विद्यालय, बतासे, रिब्दीकोट–७, श्री सोमहर आधारभूत विद्यालय, सोमहर फेक, रिब्दीकोट–८, का विद्यार्थीहरुलाई अध्ययन सहज हुने उद्देश्य अक्षयकोष स्थापना गरिएको कुँवरले बताए । विद्यालयसँगको आत्मीय सम्बन्धलाई जीवनभर कायम राख्ने सोचले प्रेरित कुँवरले भने, “विद्यालयसँगको सम्बन्ध सधैं जीवन्त रहोस् भन्ने चाहनाले यो सानो प्रयास गरेको हुँ।”
शिक्षा र समाज सेवामा चार दशकभन्दा लामो योगदान दिएका कुँवर पाल्पाली समाजमा मात्र नभई, समग्र नेपाली शिक्षा जगतमा एक प्रेरणादायी, अनुकरणीय र सम्माननीय व्यक्तित्वको रूपमा स्थापित छन् । उनीजस्ता शिक्षकहरूको योगदानले नेपालको ग्रामीण शिक्षालाई आधारभूत तहदेखि नै बलियो बनाउँदै आएको छ ।