
तानसेन। पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत प्रसूति, पूर्ण खोप दिगोपना सुनिश्चितता र पोषण मैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा भएको छ। शनिवार गाउँपालिकामा आयोजित घोषणा सभामा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु, जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष टंकनाथ खनाल, सदस्य सचिव तथा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले गाउँपालिका अध्यक्ष नुन बहादुर थापा, उपाध्यक्ष,भागिरथी भटराई, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मोहन ढकाललाई प्रमाणपत्र प्रदान गरी पूर्ण संस्थागत प्रसुति, पोषणयुक्त र पूर्ण खोप दिगोपना सुनिश्चितता भएको घोषणा गरिएको हो .
कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको हुँदा स्थानीय तह र स्वास्थ्य शाखाहरुले सोही अनुसारको सेवा दिनुपर्ने बताए।
उनले मानिस स्वस्थ भएमा मात्रै उसले शिक्षा लिने तथा समाजको विकासमा लाग्न सक्ने बताउँदै स्थानीय तहबाटै नागरिकलाई स्वास्थ्यमा सचेत बताउनुपर्नेमा जोड दिए।
जिल्ला समन्वय समितिका प्रमुख खनालले मानिस हरेक क्षेत्रमा स्वस्थ रहेर मात्रै समग्र क्षेत्रको विकास गर्न सकिने बताए । उनले स्वास्थ्यकर्मीको व्यवहारदेखि सामाजिक पद धारण गर्ने व्यक्ति तथा सबै क्षेत्रका मानिसहरु सामाजिक र मानसिक रुपमा स्वस्थ हुनुपर्नेमा जोड दिए।
गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले पालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै नागरिकले सामाजिक र आर्थिक विकास गर्न स्वस्थ्य जीवनशैली र शैक्षिक विकास जरुरी रहेको बताए । उनले पालिकाले स्वास्थ्यमा पूर्वाधार प्रविधि र जनशक्ति विकास गरी प्रत्येक वर्ष नयाँ सेवाहरु दिने गरेको बताए ।
उपाध्यक्ष भागिरथी भट्टराई प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, लगायतले गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्यका क्षेत्रमा उपलब्धि मूलक काम गर्दै आएको बताउादै सोको निरन्तरताका लागि सबै पक्षको सहकार्य जारुरी रहेको बताएका थिए ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले स्वास्थ्यकर्मी र जनप्रतिनिधि तथा नागरिकको सहयोगमा घोषणा गर्न सफल भएको बताए । उनले सरकारले तोकेका सबै सूचकहरु पूरा गरी गरिएको घोषणाबाट थप उपलब्धी हासिल हुनेगरी काम गर्न सबै स्वास्थ्यकर्मी र सोका लागि सहजीकरण गर्न आम नागरिकलाई अनुरोध गरे । शाखा प्रमुख ढकालले गाउँपालिका भित्रको स्वास्थ्य सेवाको अवस्था, प्रसूति सेवा, खोप, किशोर किशोरी मैत्री सेवा र पोषण मैत्री स्वास्थ्य संस्थाका विषयमा प्रतिवेदन समेत प्रस्तुत गरेका थिए।
कार्यक्रममा सबै स्वास्थ्य चौकी व्यवस्थापन समिति, महिला स्वास्सथ्य स्वयम् सेविकाहरुलाई सम्मानसमेत गरिएको थियो ।