रिब्दीकोट गाउँपालिकामा “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन” सम्बन्धी अन्तरक्रिया

पाल्पा । अक्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको आयोजनामा रिब्दीकोट गाउँपालिकामा “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा आयोग बुटवलका शाखा अधिकृत मोतिराज पौडेलले प्रदेश तथा स्थानीय तहहरूबाट प्राप्त उजुरीहरूको तथ्याङ्क प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा पाल्पाबाट १११ वटा उजुरी परेको र तीमध्ये ८२ वटा उजुरी फर्स्योट भइसकेको जानकारी दिए । उनका अनुसार रिब्दीकोट गाउँपालिकाबाट ८ वटा उजुरी परेकोमा ६ वटा फर्स्योट भइसकेका छन्। लुम्बिनी प्रदेशमा सबैभन्दा बढी उजुरी पर्ने जिल्ला रुपन्देही रहँदा सबैभन्दा कम उजुरी पर्ने जिल्ला प्युठान रहेको समेत पौडेलले जानकारी गराए।

कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण कार्कीले सार्वजनिक पदमा बसेका व्यक्तिहरूले निजी स्वार्थको परित्याग गर्नुपर्नेमा जोड दिए । उनले सुशासनको प्रत्याभूति गराउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए ।

सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणि खनाल, पूर्व अध्यक्ष नारायण जीसी, भैरव जनता माध्यमिक विद्यालयका अध्यक्ष मेघराज पौडेललगायत वक्ताहरूले अभाव र लापरवाहीका कारण भ्रष्टाचार मौलाउँदै गएको जनाउँदै पुष्टि भएमा कडा कारबाहीको माग गरेका थिए।

कार्यक्रमको अध्यक्षता अक्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सीडीई पुन्याराम सुलुले गरेका थिए। उनले कार्यक्रमका सहभागीहरूको जिज्ञासामा सहजीकरण गर्दै अक्तियारको भूमिकाबारे स्पष्ट पारेका थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको