रिब्दीकोट गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ

तानसेन। रिब्दीकोट गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। कार्यालयको सभाहलमा सम्पन्न सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणी प्रसाद खनालले आर्थिक वर्ष २०८१। ८२ मा कार्यालयबाट सम्पादन भएका योजना र कार्यक्रमको बारेमा जानकारी दिएका थिए । उनले चालु तथा पुजिगत गरी कुल ५५ दशमलब ९९ प्रतिशत बजेट खर्च भएको जानकारी गराउदै आन्तरिक आम्दानीको लक्ष्य अनुसार गाउँपालिकाले ८० दशमलब ६९ प्रतिशत संकलन गरिसकेको बताए।

यस्तै मोटरबाटो कालोपत्र, स्तारोन्नति, भवन निर्माण, खेलमैदान, पर्यटन पूर्वाधारलगायतको क्षेत्रमा भएको कामले गर्दा ६० प्रतिशत माथि भौतिक प्रगति भएको उनले बताए । गाउँपालिका भित्र उपभोक्ता समितिमार्फत ४ करोड बराबरको योजनाहरु सम्झौता भएर कार्यान्वयनमा रहेको पनि प्रमखु प्रशासकीय अधिकृत खनालले बताए ।

कृषि क्षेत्रमा यस आर्थिक वर्षमा तीन सय २४ रोपनी बाझो जग्गामा खेति विस्तार, एक सय २५ रोपनीमा सुन्तलाको क्षेत्र विस्तार गरिने, कृषकलाई प्रविधि हस्तान्तरणका लागि सूचना संकलन कार्य सम्पन्न गरिएको, पशु सेवातर्फ हल गोरु पाल्ने कृषकलाई प्रोत्सान कार्यक्रम अनुसार प्रति कृषकलाई दाना खरिद बापत दुई हजार पाँच सय र गोरु खरिद बापत पाँच हजारका दरले दुई सय ८२ कृषकलाई सहयोग उपलब्ध गराइएको, वंगुर प्रर्वद्धन कार्यक्रम अनुसार एक सय ९४ वटा वंगुरका बच्चा वितरण गरिएको, गाउँपालिकाले शिक्षा तथा खेलकुद, स्वास्थ्य, प्रशासन, सूचना प्रविधि, महिला विकास, सहकारी, पञ्जीकरण तथा सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम, गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रमको प्रगतिका विषयमा प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिए ।

सुनुवाइ कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, खानेपानी क्षेत्रमा आफ्ना प्रश्न जिज्ञाशा र सुझाव व्यक्त गरेका थिए । सहभागीले सबै वडामा योजनाको समानुपातिक वितरण हुनुपर्ने, लिफ्टिंङ खानेपानीको अधिवेशन नियमित हुनुपर्ने, अस्थायी कर्मचारीलाई पञ्जीकरण शाखाको जिम्मा दिएको, अपांगता भएका ग वर्गका व्यक्तिले भत्ता नपाएको, शिक्षा, स्वास्थ्य पर्यटन र भौतिक पूर्वाधार विकासका बारेका गुनासो एवं सुझाव राखो थिए ।

कार्यक्रममा उठान भएका प्रश्न, जिज्ञाशा र सुझाव बारे गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले विधि, प्रकृया र सर्वपक्षिय समन्वयका साथ समग्र गाउँपालिकाको समृद्धिका लागि आफूहरुले काम गर्दै आएको दावी गरे उनले गलत गर्ने छुट हामी कसैलाई नभएको र राम्रो सोचका साथ गरिएको काममा केही कैफियत भेटिए तत्काल सुझाउन सबै नागरिकलाई आग्रह गरे। अध्यक्ष कार्कीले भएका राम्रो कामको निरन्तरता र सुधार गर्नुपर्ने विषयमा आमनागरिक संग सुझाव माग्न नियमित रुपमा सार्वजनिक सुनुवाइ गर्ने गरिएको बताए। उनले निर्वाचनमा गरिएको षोषणापत्र अनुसार नै काम गरिएको बताउँदै करिब सबै प्रतिबद्धता पूरा भएको दावी गरे।

उपाध्यक्ष कान्ता अधिकारीले योजना तथा कार्यक्रमको गुणस्तर एकिन गरेर मात्र भूक्तानी दिने गरेको बताइन् । पालिकाका योजनाहरु सम्पन्न गरी नागरिकको आवश्यकता पुरा गर्न प्राप्त सल्लाह सुझावलाई आत्मसाथ गरेर अगाडि बढ्ने बताइन् ।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष सोम कुमार कार्की, वडा नं. ५ का अध्यक्ष्ँ मन बहादुर अस्लामी, वडा नं. २ का अध्यक्ष ओम प्रसाद पोखरले तथा विषयगत शाखाका प्रमुखहरुले उठेका जिज्ञाशाको बारेमा प्रष्ट पारेका थिए ।

तपाईको प्रतिक्रिया