
पाल्पा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पूनले राज्यबाट पछाडि पारिएका जातजातिको उत्थान र समानताको अधिकार सुनिश्चितताका लागि माओवादीले क्रान्ति गरेको बताएका छन् ।
शुक्रबार पाल्पाको रम्भा र पूर्वखोला गाउँपालिकाको आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशन उद्घाटन गर्दै नेता पूनले माओवादी आन्दोलनले नेपालमा गणतन्त्र स्थापना गर्न सफल भएको बताए । “शाहवंशका राजाहरुले झन्डै ६ सय वर्ष शासन गरे । समग्रमा हेर्दा राजतन्त्रको शासन करिब १ हजार वर्षजति रह्यो,” उनले भने, “तर अब जनताका छोराछोरीहरू राष्ट्रप्रमुख बन्ने अवस्था आएको छ । यो माओवादीको देन हो ।”
पूनका अनुसार माओवादी क्रान्तिको मुख्य उद्देश्य सबै भाषा, जात, र समुदायबीच राजनीतिक, सामाजिक समानता सुनिश्चित गर्नु हो । “हामीले सबै भाषा भाषी समान हुने व्यवस्था ल्याएका छौं,” पूनले भने, “अब देशका नायक–नायिका जनता स्वयं बन्न सक्छन्।”
पूर्व सभामुख ओनसरी घर्तीले भाषाका आधारमा उत्पीडन रहेकोमा माओवादी क्रान्तिका कारण देशमा सबै नागरिकले समान अधिकारको प्रयोग गर्न पाएको बताइन् । उनले देशमा माओवादीले जनपक्षीय काम गरेको समेत बताइन् ।
कार्यक्रममा मगर राष्टिय मुक्ति मोर्चाका अध्यक्षदीपक चर्ती मगर, नेत्र प्रसाद पाण्डेय, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा, मोर्चाकी केन्द्रीय उपाध्यक्ष लिला सोमै, पाल्पा काठमाडौं सम्र्पक समाजका अध्यक्ष हुम सुनारी लगायतले मगर जाति शसक्त भइ लागे मात्र आफ्नो हक अधिकार प्राप्ति हुने बताए । कार्यक्रम समाजसेवी चुमानसिह सिजालीका अध्यक्षता र हरि बाहघरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।