पाल्पा – “जातीय विभेद मुक्त समाज, समाजवाद निर्माणका मुख्य आधार : दलित तथा गैरदलित समुदायको भूमिका” भन्ने मूल नाराका साथ रिब्दीकोट गाउँपालिका स्तरीय दलित समन्वय समितिको आयोजना र रिब्दीकोट गाउँपालिकाको आर्थिक सहयोगमा एक दिवसीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

रिब्दीकोट गाउँपालिकाभित्र जातीय भेदभाव शून्य बनाउने र दलित समुदायका हकअधिकार स्थापित गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विभिन्न तहका राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, स्थानीय जनप्रतिनिधि, शिक्षक, युवा तथा महिला समूहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै लेखक तथा विश्लेषक विश्वभक्त दुलाल (आहुती)ले जातीय भेदभाव अन्त्य गर्न दलित र गैरदलित दुबै समुदायको भूमिका अपरिहार्य रहेको बताए। “जातीय भेदभाव अन्त्य गरेर मात्र समाजवादमा जानुपर्छ,” आहुतीले भने, “समाजवादमा गएपछि भेदभाव अन्त्य हुन्छ भन्नु भ्रम हो।” निजी दुखको अन्त्य नै समाजवादको आधार भएको बताउँदै उनले संविधानमा समावेशी प्रणालीको संकेत भए पनि समाजवाद उन्मुख सम्वन्धी आवश्यक आधारहरू स्पष्ट उल्लेख नभएको धारणा राखे।
कार्यक्रममा संविधानसभा सदस्य लिला सोमैले दलित, महिला र जनजातिहरूले ब्राह्मणवाद र प्रतिक्रियावादसँग जुध्दै अधिकारको सुनिश्चितताका लागि अझ दृढ संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याइन्। “संविधानले हक दिएको भए पनि कार्यान्वयनको पक्ष कमजोर हुँदा दलित समुदाय अझै पनि उत्पीडन सहन बाध्य छन्,” सोमैले भनिन्।
कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जातीय समानता, सामाजिक न्याय र समाजवादको लक्ष्य प्राप्तिका लागि दलित र गैरदलित समुदायबीचको समझदारी र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे। उनले गाउँपालिकाले समाजमा समानता र समावेशिता प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराए।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका चिरञ्जीवी पोखरेल, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष राजेन्द्र विश्वकर्मा, र जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीलगायत नेताहरूले कानुनी रूपमा जातीय भेदभाव निषेध भए पनि व्यवहारमा विभेद अझै कायम रहेको औंल्याउँदै, यस्ता भेदभावको अन्त्यका लागि समुदाय स्तरमै सचेतना र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले शिक्षा, सामाजिक चेतना, कानुनी पहुँच र राजनीतिक सहभागितालाई सशक्त बनाउन जोड दिँदै जातीय भेदभाव विरुद्धको अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्नेमा सहमति जनाएका थिए।
दलित समन्वय समितिका अध्यक्ष सम्बर विश्वकर्माले “हामी विभेदको अन्त्य मात्र होइन, समानताको अभ्यासलाई संस्थागत गर्न खोजिरहेका छौं। त्यसका लागि दलित र गैरदलित दुवै समुदायको सक्रिय भूमिका जरुरी छ,” भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई वडास्तरसम्म विस्तार गरिने जानकारी दिए। कार्यक्रम दलित समन्वय समितिका अध्यक्ष सम्बर विश्वकर्माको अध्यक्षता र आरबी निश्चलको सञ्चालनमा सम्पन्न भएको थियो।



