कार्यवाहक वडाध्यक्षको भूमिका सम्हाल्दैछन् दलित महिला सदस्य

पाल्पा । स्थानीय तहमा समावेशी नेतृत्व अभ्यास र महिला सशक्तीकरण पाटोको अभ्यास कार्यान्वयनतर्फ लागिपरेका छन् । तानसेन नगरपालिकाभित्र दलित तथा महिला वडा सदस्यहरूले पटक–पटक कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाइरहेका छन् । छोटो अवधिमा कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्ने पुगेका दलित महिला सदस्यहरुले जनमुखी काम गर्न सफल भएका छन् । नेपालको संविधानले समावेशी सिद्धान्तलाई प्रस्तावनामा नै उल्लेख गरेसँगै स्थानीय सरकारले समावेशी सिद्धान्तलाई व्यवहारिक रुपमा कार्यान्वयनतर्फ लम्किएका छन् ।

पाल्पाको तानसेन नगरपालिकामा समानता र समावेशीकरणको अभ्यास गर्दै वडा नम्बर १ की मञ्जु बिकले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी सम्हालेर नेतृत्व क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी छिन् । तानसेन नगरपालिका १ नम्बरका वडाध्यक्ष कामको सिलसिलमा वडा बाहिर रहँदा, वडा सदस्य मञ्जु बिकले वडाका दैनिक प्रशासनिक कामकाजदेखि विभिन्न विकास आयोजना समन्वयसम्मको कार्यभार प्रभावकारी ढंगले सम्हालेकी हुन् ।

वडाध्यक्षको काम गर्न पाउँदा कार्यपालिका सदस्य तथा दलित महिला वडा सदस्य मन्जु विकलाई निकै खुसी लाग्यो । नागरिकसँग जोडिएर वडाको काम गर्न पाएको छु, नागरिकको सेवा गर्न पाउनु ठूलो अवसर हो । त्यसैले नागरिक सेवा प्रवाहमा सहजता ल्याउने काम जनप्रतिनिधिले गर्नुपर्छ । कार्यवाहक वडाध्यक्षको जिम्मेवारी पाएसँगै वडाध्यक्षको रुपमा काम गर्न सक्ने हिम्मत आएको छ । तीन वर्षको अवधिमा एक पटक कावा वडाध्यक्ष जिम्मेवारीले दलित महिलाहरुमा जिम्मेवारीसँग उत्साह समेत ल्याएको हो ।

यस्तै, तानसेन नगरपालिका वडा नम्बर ११ की गीता ठट्टाईले एक पटक चार दिनसम्म कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी वहन गरिसकेकी छिन् । विभिन्न कारणले वडाध्यक्ष अनुपस्थित हुँदा उनले कार्यालय सञ्चालनदेखि बजेट खर्च, सार्वजनिक सेवा वितरण तथा योजनाका समीक्षा, बैठकहरूको समेत नेतृत्व गरेकी छन् । गीता ठट्टाईको सक्रियता र प्रतिबद्धताले वडावासीहरूबाट सकारात्मक प्रतिक्रिया बटुलेकी छिन् ।

दलित समुदायको महिलाहरु स्थानीय तहका प्रत्यक वडामा प्रतिनिधित्व गरेसँगै भावि नेतृत्वको आधार समेत तय हुँदै गएको छ । उनीहरुले वडा सदस्यका रुपमा निर्वाचित भएपनि वडाध्यक्ष नहुँदा कावा वडाध्यक्ष जिम्मेवारी समेत सफलता पूर्वक निर्वाह गर्न सफल मिलेको छ । जिम्मेवारी पुरा गर्नमा महिलाहरु सक्रियतामा कुनै कमी छैन । सामाजिक रुपमा जातिय अपमान सहन बाध्य बनाइएको समुदायबाट अहिले स्थानीय तहको नेतृत्वमा पुग्नु गौरवको कुरा हो । त्यसमाथि समय समयमा वडाको कार्यावाहक अध्यक्ष जिम्मेवारी पनि ठूलो हो । महिला, त्यसमाथि दलित महिलालाई यो अवसर समेत हो । हामी आत्मसम्मानका लागि लडिरहेका समुदाय हो । वडाका काममा सबैलाई समान व्यवहार गरी बढ्ने हो । कावा वडाध्यक्षको जिम्मेवारीले आफुलाई स्थानीय तहको नेतृत्वमा रहेर काम गर्न सक्ने महसुस भएको छ ।

तानसेन नगरपालिका वडा नम्बर ५ की लक्ष्मी विकले पनि चार–पाँच पटकसम्म कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी सम्हालेकी छिन् । वडाको दैनिक प्रशासन, योजना पारित तथा सार्वजनिक सेवा प्रवाह प्रक्रियामा उनले महत्वपूर्ण भूमिका खेलेकी हुन् । लक्ष्मी विकले आफ्नो कार्यकालमा समावेशी र सहभागितामूलक विकास मोडेललाई प्राथमिकता दिएकी थिइन् । स्थानीय बासिन्दाहरूका अनुसार उनले वडा भित्र गरिब, दलित तथा पछाडि परेका वर्गको आवाज बुलन्द बनाउने महत्वपूर्ण भूमिका खेलेकी छन् ।

त्यस्तै गरी, वडा नम्बर ३ की सावित्रा गौतमले पनि कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी सम्हालेकी छन् । सावित्रा गौतमले कार्यभार सम्हाल्दा वडाको नागरिकता सिफारिस, वृद्धभत्ता नविकरण तथा अन्य सामाजिक सुरक्षा कार्यक्रमहरूको व्यवस्थापन तथा समन्वय सशक्त बनाएकी थिइन् । तानसेन नगरपालिकाका अधिकांश वडामा वडा सदस्यहरूले समयसमयमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रचलन विकास हुँदै गएको छ । यसले महिला र दलित समुदायका प्रतिनिधिहरूलाई नेतृत्वमा आउने अवसर सृजना गरेको छ, जसले स्थानीय शासन प्रणालीमा विविधता र समावेशीताको भावना बढाएको छ ।

समावेशी नेतृत्व अभ्यासको प्रभाव
स्थानीय तहमा यस्तो अभ्यासले नेतृत्व विकासमा मात्र नभई नीतिगत तहमा समेत समावेशीताको अभ्यासलाई सुदृढ बनाएको छ । तानसेन नगरपालिका भित्र दलित तथा महिला प्रतिनिधिहरूलाई अवसर प्रदान गर्नुले अन्य नगरपालिका र गाउँपालिकाहरूका लागि पनि सकारात्मक उदाहरण पेश गरेको छ । तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिंजाली गाहा अनुसार, “नेतृत्व अवसरलाई सबै प्रतिनिधिमा समान रूपमा वितरण गर्नु लोकतान्त्रिक अभ्यासको मूल मर्म हो । हामी सबै समुदायको सहभागिता र प्रतिनिधित्वलाई सुनिश्चित गर्न प्रतिबद्ध छौं ।”वडाध्यक्षको कार्यवाहक जिम्मेवारी सम्हाल्दा महिलाहरूले वडास्तरीय बैठकहरू सञ्चालन गर्नु, बजेट तयारी प्रक्रिया अगाडि बढाउनु, सामाजिक विषयमा सहजीकरण गर्नु जस्ता महत्वपूर्ण कार्यहरू गर्दै आएका छन् ।

वडास्तरीय नेतृत्वमा आउने नयाँ उर्जा
पछिल्लो समय वडा सदस्यहरूमा नेतृत्व क्षमताको विकास मात्र नभई आफ्नै वडाको दीगो विकासमा समेत स्पष्ट योजना प्रस्तुत गर्ने क्षमता देखिएको छ । कार्यवाहक अध्यक्षको भूमिका सम्हालेका प्रतिनिधिहरूले सेवा प्रवाहमा सुधार, पारदर्शिता कायम राख्नुपर्ने र नागरिकसँग नजिकिएर काम गर्नुपर्ने अनुभूति व्यक्त गरेका छन् । मञ्जु बिकले आफू कार्यवाहक अध्यक्ष हुँदा वडामा महिला तथा दलित लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको बताएकी छन् । गीता ठट्टाईले भने, वडावासीसँग नियमित परामर्श गरेर साना विकास आयोजनाहरू अगाडि बढाउने प्रयास गरेकी थिइन् ।

वडावासीको सकारात्मक प्रतिक्रिया
वडास्तरीय नेतृत्वमा देखिएको यो सक्रियतालाई वडाका स्थानीय बासिन्दाहरूले पनि स्वागत गरेका छन् । वडा नम्बर ५ का स्थायी बासिन्दा शान्ति विकले भनिन, “महिला प्रतिनिधिले नेतृत्व सम्हालेपछि वडा कार्यालयमा झन् सहज ढंगले सेवा पाइयो । सबै नागरिकलाई समान व्यवहार हुने भावना अझ बलियो भएको छ ।” वडा नम्बर ३ का अगुवा तथा शिक्षक तीर्थ प्रसाद गौतमले टिप्पणी गरे, “सावित्रा गौतमजस्ता महिला नेतृहरूले नेतृत्व सम्हाल्दा हामी युवाहरूमा पनि राजनीतिमा सहभागिता र नेतृत्व क्षमता विकास गर्ने प्रेरणा मिलेको छ ।”

भविष्यका लागि बाटो
दलित महिला केन्द्र नेपाल पाल्पाकी अधिकृत निर्मला शाहीका अनुसार स्थानीय तहका कार्यसम्पादन प्रभावकारी बनाउने र महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्ने प्रयोजनका लागि प्रभावकारी र समावेशी सुशसान सुद्धढीकरण सवलीकरण कार्यक्रम सञ्चालन भएको बताइन् । यो परियोजनाले स्थानीय सरकार काम कर्तव्य र जिम्मेवारी सम्वन्धी महिला जनप्रतिनिधिहरुलाई थप जवाफदेही बनाउन योगदान पुग्ने शाहीले बताइन् ।

तानसेन नगरपालिकामा देखिएको यो अभ्यासले महिला तथा दलित समुदायको नेतृत्व क्षमतामा विश्वास बढाएको छ । आगामी निर्वाचनमा पनि वडा अध्यक्ष वा महत्वपूर्ण पदमा महिला र दलित प्रतिनिधिको उम्मेदवारी र विजयी सम्भावनालाई बल पु¥याउने अपेक्षा गरिएको छ । स्थानीय सरकार तथा संघसंस्थाहरूले समेत यस्ता अभ्यासलाई संस्थागत गरेर दीर्घकालीन रूपमा नेतृत्व विकास कार्यक्रम अगाडि बढाउनुपर्ने आवाज उठ्न थालेको छ । समाजमा पछाडि पारिएको समुदाय तथा महिलाहरुलाई राज्यका हरेक तहतप्कामा समानता र समावेशीकरणको अभ्यासलाई कार्यान्वयन गर्न सकेको अवस्था विकास र शुशासन कायम हुने लुम्विनी प्रदेशसभा सदस्य इन्द्रा गहतराजले बताइन् ।

तपाईको प्रतिक्रिया