पाल्पाली ढाकाकी संस्थापक महर्जनलाई ‘दीर्घसेवा सम्मान’

तानसेन । तानसेन नगर प्रज्ञा प्रतिष्ठान, तानसेन नगरपालिकाले दीर्घ सेवा सम्मानबाट पाल्पाली ढाका कपडाकी संस्थापक पूर्णमाया महर्जनलाई नगदसहित सम्मान गरेको छ। प्रतिष्ठानले पाल्पालाई चिनाउने पाल्पाली ढाकाका संस्थापक ८७ वर्षीया महर्जनलाई नगद ६८ हजार, ताम्रपत्र, दोसल्लासहित सम्मानित गरेको हो।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिङ्जाली, नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति चोलेश्वर शर्माले सम्मान गरेका हुन्। वि.स.२०१५ सालबाट सुरु भएको हाते तानबाट तयार हुने ढाका हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको दाबी पूर्णमायाको छ।

पाल्पा जिल्लामा तीन दर्जन बढी ढाका कपडा उद्योगी तथा व्यापारी छन्। तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुसुमखोला, चिर्तुङ्धारा, बीरकोट, फोक्सिङकोट, पालुङमैनादी, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुन्ने गर्छन्।

ढाकाबाट महिलाको दरिलो आयस्रोत बनेको छ। यसअघि नगर प्रज्ञा प्रतिष्ठानले ३५ जना पाल्पामा साहित्य, कला, संस्कृति लगायत विभिन्न क्षेत्रमा योगदान गर्नेहरूलाई सम्मान गरिसकेको जनाएको छ।

तपाईको प्रतिक्रिया