तानसेन। रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ‘आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधारः समृद्ध रैनादेवी छहराको मूल आधार’ भन्ने नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँसभाको १८औँ अधिवेशनको पहिलो बैठकमा अध्यक्ष रुक्माङ्गत भट्टराईले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समावेशी, पारदर्शी र परिणाममुखी विकासलाई प्राथमिकतामा राखिएको जानकारी गराए।
दीर्घकालीन सोचका साथ कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र वातावरण संरक्षणका क्षेत्रमा सन्तुलित विकासका कार्यक्रम गर्नेगरी सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्दै स्वावलम्बी र समुन्नत गाउँपालिका निर्माण गर्ने लक्ष्य राखिएको छ ।
अध्यक्ष भट्टराईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिमा व्यवसायिकता, यान्त्रीकरण र “एक गाउँ, एक उत्पादन” को अवधारणा अनुसार आत्मनिर्भरता बढाउने, शिक्षामा “एक विद्यालय, एक कम्प्युटर” तथा बुक फ्रि फ्राईडे जस्ता सिर्जनशील कार्यक्रम गर्ने, स्वास्थ्यमा “एक विद्यालय, एक नर्स“, सुत्केरी आमा पोषण कार्यक्रम, १५ शय्याको अस्पताल निर्माण, पर्यटनमा होमस्टे प्रवद्र्धन, धार्मिक स्थल संरक्षण, पर्यटकीय पदमार्ग विकास, पूर्वाधारमा सिभिल प्रयोगशाला निर्माण, छहरा–धजाबान्ने, सुन्दरेढुङ्गा–जुठापौवा–सालझण्डी लगायतका सडकको स्तरोन्नति गर्ने, युवामा स्वरोजगार तालिम, अध्यक्ष कप खेलकुद प्रतियोगिता, स्टार्टअप प्रोत्साहन, समावेशीतामा महिला, दलित, अशक्त र एकल महिलालाई लक्षित कार्यक्रम र “हिंसामुक्त गाउँ” अभियान सञ्चालन गरिने जनाइएको छ ।
कार्यक्रमको कार्यान्वयनका लागि पारदर्शिता र जनसहभागितामा विशेष जोड दिइने र कर सुधार, सेवालाई डिजिटलाइजेसन, योजनाको अनुगमन र सार्वजनिक सुनुवाइमार्फत सुशासन सुनिश्चित गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा सभाका सदस्यहरु धन बहादुर रायमाझी, दान बहादुर थामी, सुर्य कार्की र रविलाल पोखरेलले, वीरबहादुर पोखरेल, अर्जुन ज्ञवालीलगायतले सुझाव राखे ।
प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ । अधिवेसनको दोस्रो बैठक आगामी असार ९ गते सोमबार बस्ने र सो बैठकमा बजेट प्रस्तुत हुने सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए।





















