तानसेन। डिभिजन वन कार्यालय पाल्पाले साउन १ गतेदेखि अर्को आदेश नभएसम्म चुनढुंगा सामग्री उत्खनन र ओसार पसार कार्य रोक्न निर्देशन दिएको छ । चुनढुंगा खानीबाट वर्षात्को समयमा उत्खनन तथा ओसार पसार गर्दा मुख्य तथा सहायक सडकसमेतका पूर्वाधारमा पुर्याउने क्षति, सडक दुर्घटनाबाट निम्त्याउन सक्ने समस्या देखिएकाले उत्खनन र ओसार पसारमा रोक लगाउने निर्णय गरेको हो ।
खानी उद्योगहरुले खानी विभागबाट स्वीकृत भएको माइनिङ स्किम र वन तथा भू–संरक्षण विभागसँग गरेको सम्झौता समेतको आधारमा निश्चित अवधि खानी उत्खनन तथा ढुवानी रोक्का गर्नुपर्ने व्यवस्था भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए ।
स्थानीय बासिन्दा तथा ओसार पसार गर्ने क्षेत्रका नागरिकको गुनासोलाई समेत मध्य नजर गरेर रोक लगाइएको हो। वन नियमावली, २०७९ को परिच्छेद १५ नियम ११८ को ४ बमोजिम बसेको जिल्ला वन सुरक्षा समितिको बैठकले उत्खनन र ओसारपसारमा रोक लगाउने निर्णय गरेको हो । वर्षातमा बाढी पहिरोका कारण सिमेन्ट उद्योगका लागि कच्चा पदार्थको रुपमा प्रयोग हुने चुनढुंगा उत्खनन क्षेत्रमा हेभी इक्वेपमेन्ट आवत जावत गर्दा सडक बिग्रने डिभिजन वन कार्यालयले जनाएको छ ।
खानी सञ्चालन भएका सबै स्थानीय तहमासमेत निर्देशन पठाइसकिएको डिभिजन वन कार्यालयले जनाएको छ । चुनढुंगा खानी उत्खनन गर्ने उद्योग संचालकले वार्षिक २७० देखि ३०० दिनसम्म उत्खनन तथा ओसारपसारको अनुमति पाउने खानी तथा भूगर्भ विभागले जनाएको छ ।




















