रिब्दीकाेटको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनालले चालु आर्थिक वर्षमा भएको खर्च तथा आम्दानीको विवरण प्रस्तुत गर्दै चालुतर्फ ३७ करोड ३२ लाख १२ हजार विनियोजन भएकामा ३३ करोड ७४ लाख २० हजार खर्च भएको बताए । यस्तै पुँजीगततर्फ १९ करोड ५६ लाख ९ हजार विनियोजन भएकामा १५ करोड ७४ लाख ८९ हजार खर्च भएको बताए ।

गाउँपालिकाको ५६ करोड ८८ लाख २२ हजार विनियोजन भएकामा ४९ करोड ४९ लाख १० हजार खर्च भएकाले समग्रमा ८७ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी गराए।

सार्वजनिक सुनुवाईमा सहभागीको जिज्ञासापछि बोल्दै गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले सेवाग्राहीसँग जिज्ञासा, प्रश्न, सुझाव लिएर प्रस्तुति गरेकाले पनि गाउँपालिकालाई आगामी दिनमा सुधार गरेर अघि बढ्ने अवसर प्राप्त भएको बताए। उनले नागरिकलाई सेवा सुविधामा थप सहजता ल्याउनका लागि नयाँ नयाँ कार्यक्रम संचालन भइरहेको बताउँदै नागरिकको सुझावलाई मनन गरेर अघि बढ्ने बताए।

विगतको तुलनामा शिक्षा क्षेत्रमा सुधार भएको बताउँदै अध्यक्ष कार्कीले एसईईको नतिजामा २१ बाट बढेर ४९ प्रतिशत पुगेको बताए । पालिकाको गौरवको विषय बनेको अकबरे खुर्सानीको सम्बन्धमा यसवर्ष मुल्य तोक्न नसकिएको बताउँदै व्यापारीसँग निरन्तर सम्पर्क हुँदा खरिद गर्न चाहाने तर मुल्य निर्धारण गर्न नसकिएको अध्यक्ष कार्कीले बताए। व्यापारीहरु र उत्पादक बीचको सम्बन्धमा मुल्य निर्धारणका लागि तयारी भइरहेको बताउँदै बजारको प्रतिस्पर्धाले मुल्य निर्धारण हुने भएकाले सोही अनुसारको काम अघि बढ्ने अध्यक्ष कार्कीले बताए।

सार्वजनिक सुनुवाईमा रिब्दीकोट गाउँपालिका ५ का कमल बहादुर सिंजालीले सडक, बिजुली, टस पुलका लागि पहल गरिदिनुपर्ने बताए। रिब्दीकोट गाउँपालिका २ का टुकलाल सारुले खानेपानी योजना, टंकी निर्माण भएको बताउँदै टोल टोलमा योजना संकलन गर्न नआएकामा दुःख मनाउ गरे। रिब्दीकोट ३ खस्यौलीका राधाकृष्ण दंगालले कृषकले अकबरे खुर्सानी उत्पादन गरेको भए पनि बिचौलियाले नाफा बढी कमाएको गुनसो गरे सहभागी नविन वलीले कृषि शाखाले बीउ विरुवा र औषधिको गुणस्तरका विषयमा जानकारी गराउनुपर्ने बताउँदै व्यवसायिक खेती गर्ने किसानले गुणस्तरीय सेवा पाउनुपर्नेमा जोड दिए।

सहभागीको जिज्ञासा, गुनासाको कृषि शाखा प्रमुख प्रज्ञा लाम्टाङ्गेले सबै वडामा प्राविधिक एकैपटक खटाउन नसकिएको बताउँदै कतिपय वडामा प्राविधिक नपुग्ने समस्या भएको बताइन् ।

स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले औषधिको कुनै अभाव नभएको बताए। वडा नम्बर २ का वडाध्यक्ष ओमप्रसाद पोखरेलले टोलटोलमा योजनाका सम्बन्धमा टोल संयोजकलाई खबर गर्ने गरिएको बताए। वडा नम्बर ५ का वडाध्यक्ष मनबहादुर अस्लामीले गाउँका कतिपय टोलमा पालिकाबाटसमेत बजेट विनियोजन भएकाले सोही अनुसार काम अघि बढेको बताए।

सार्वजनिक सुुनुवाईमा नागरिक प्रतिवेदन र सेवा लिएर बाहिरिएकाहरुसँग भरेको फारामका साथै टोल समुहबाट आएका सुझाव, जिज्ञासा, गुनासाको प्रस्तुति पत्रकार माधव प्रसाद अर्यालले र कार्यक्रमको संचालन पत्रकार कमल अधिकारीले गरेका थिए ।

पालिकाकी उपाध्यक्ष कान्ता अधिकारीकाे स्वागतमा सुरू भएकाे सुनुवाइमा आचारसंहिताको जानकारी पत्रकार भुवन रायमाझीले गराएका थिए । सार्वजनिक सुनुवाईको सहजिकरण संचार मञ्च पाल्पाले गरेको हो ।

तपाईको प्रतिक्रिया