लुम्बिनी प्रदेशमै धेरै डेंगु संक्रमित पाल्पामा

तानसेन । पहाडि जिल्ला पाल्पामा एक दशक अघिसम्म फ्याटफुट्ट मात्रामा देखिने डेंगी रोगको संक्रमण यो वर्ष लुम्बिनी प्रदेशकै सबै भन्दा धेरैको संख्यामा पुगेको छ। जलवायु परिवर्तन, परीक्षणको दायरामा वृद्धि तथा जिल्लाका दुई ठूला निजी अस्पतालमा बाहिरी जिल्लाबाट उपचारका लागि आउने बिरामीमा समेत धेरै संक्रमण देखिएको हुँदा प्रदेशकै धेरै संक्रमित हुने जिल्ला पाल्पा बनेको हो।

स्वास्थ्य कार्यालय पाल्पाको पछिल्लो तथ्यांक अनुसार हाल जिल्लामा १७६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यो तथ्यांक सन् २०२५ को जनवरीदेखिको हो। स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार पाल्पामा लुम्बिनी मेडिकल कजेल, युनाइटेड मिसन अस्पतालमा उपचारका लागि आउने बाहिरी जिल्लाको बिरामीको तथ्यांकसमेत जोडिने हुँदा संक्रमतिको संख्या धेरै भएको छ ।

जलवायु परिवर्तनका कारण पाल्पामा पनि डेंगु सार्ने लामखुटटेको वृद्धि विकास राम्रो हुँदा संक्रमितको संख्यामा वृद्धि भएको पाइएको भट्टराईले बताए । पाल्पामा रिपोटिङ्ग राम्रो भएका कारण पनि धेरै संक्रमित भएका हुन्। ”हाल लुम्बिनी प्रदेश पाल्पामा धेरै संक्रमित देखिएपछि स्थानीय तहहरुसंग समन्वय गरेर पनि खोज र नष्ट गर अभियान संचालन गरिदै आएको छ ।” भट्टराईले भने ।

एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण पाल्पामा सबैभन्दा धेरै तानसेन नगरपािलका भित्र देखिएको छ । तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले तानसेनमा दुई ठूला अस्पताल भएका कारण धेरै संक्रमित तानसेनमा देखिए पनि सबै संक्रमित तानसेनका नरहेको बताए ।

तानसेनमा संचालित अन्य निजी मेडिकल र क्लिनिकमा पनि डेंगुको परीक्षण गराउने बिरामीको संख्या दैनिक बढेको उनले बताए । स्थानीय तहको स्वास्थ्य शाखामार्फत खोज र नष्ट गर अभियान र लामुखुट्टेको लार्भा नष्ट गर्ने अभियान संचालन गर्ने सचेतनाका कामहरु गर्ने जस्ता कार्यहरु गर्दै आएको पनि स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए ।

यो समयमा पानी पर्ने समय भएका कारण लामखुट्टेको वृद्धि विकासमा टेवा पुग्ने हुँदा संक्रमण फैलिएको हो । संक्रमण नियन्त्रणमा लागि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत्‌ ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेपनि संक्रमण बढेको पाइएको छ।

डेंगु संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्छ ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।

पाल्पामा अघिल्लो वर्ष ४ सय ६२ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer