पाल्पामा वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्नः टुक्रे योजना व्यवस्थित गर्नुपर्नेमा जोड

पाल्पा । पाल्पामा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा भएको गोष्ठी तीन दिनेसम्म चलेको थियो । गोष्ठीमा पाल्पाका स्थानीय तह र सरकारी कार्यालयका वार्षिक रुपमा सञ्चालित कार्यक्रमहरुको समीक्षा गरिएको थियो । सो कार्यक्रमको समापनका अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सिस्टममा योजना नबन्दा टुक्रे योजना बढेको भन्दै त्यसलाई व्यवस्थित गर्नुपर्ने औंल्याएका थिए । गोष्ठीमा सभामुख घर्ती मगरले स्थानीय तहका लागि आवश्यक कानुनको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै कर्मचारीहरूलाई जनताको सेवालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।

यसैगरी, प्रदेश सभा सदस्य बीरबहादुर रानाले संघीयतालाई बलियो बनाउन वडालाई अधिकार सम्पन्न बनाउनुपर्ने जोड दिए । लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले योजनालाई व्यवस्थित गर्न विकास ऐनको आवश्यकता रहेको बताउँदै पाल्पाको विकासका लागि विशेष भिजनका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहलाई सशक्त बनाएर विकास र सेवाको केन्द्र बनाउनुपर्ने धारणा राखेका थिए ।

नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका नगर अध्यक्ष गुराँस आत्रेय, नेकपा (माओवादी केन्द्र) पाल्पाका अध्यक्ष राजेन्द्र बिक, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, एकीकृत समाजवादीका जिल्ला सचिव चन्दनाथ नेपाल र राजमोका जिल्ला अध्यक्ष विशाल दर्लामीले जन्मदर घट्दै गएको र बसाइँसराइ बढिरहेको पाल्पामा सोही अनुसारका विकास योजनाहरू बनाउनुपर्नेमा जोड दिइएको थियो ।

प्रदेश मातहतका र संघीय सरकारका कार्यालयहरूको बेरुजुको अवस्था सन्तोषजनक रहे पनि स्थानीय तहको बेरुजु घटाउन विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकालिएको छ । यसका साथै पुँजीगत खर्च र वित्तीय प्रगतिलाई शतप्रतिशत पु¥याउन तथा सैद्धान्तिक बेरुजु घटाउन जोड दिइएको छ । भौतिक पूर्वाधार निर्माणको गुणस्तरमा बहस चलाउनुपर्ने, जिल्लामा परीक्षणको व्यवस्था मिलाउनुपर्ने र कार्यालयहरूबीचको समन्वय अभावले दोहोरोपन देखिएकाले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । ढुंगा, गिट्टी निकासीलाई आईई र ईआईए मार्फत व्यवस्थित बनाउनुपर्नेमा जोड दिइएको छ ।

गोष्ठीमा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी र रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण कार्की, पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्ष कमल तिमिल्सिनाले सार्वजनिक सेवालाई थप प्रभावकारी बनाउन र सुशासन प्रवद्र्धन गर्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको