पाल्पा । राष्ट्रिय सूचना दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय पाल्पाले यहाँका सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । भदौ महिनाको ३ गतेका सूचना दिवसका रुपमा मनाइदै आएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदीले सूचनाको हक नागरिकको नैसर्गिक अधिकार भएकोले कानुनले तोकेका सबै जानकारी जनतालाई दिनुपर्ने बताए ।
प्रजिअ सुवेदीले पाल्पामा सार्वजनिक सुनुवाइको चलनलाई थप प्रभावकारी बनाउन प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने बताए । उनले सूचना नदिने सरकारी अधिकारीलाई कानुनी कारबाही र जरिवाना हुने चेतावनी पनि दिएका छन् ।
यद्यपि, उनले पाल्पाका जनताले अन्य जिल्लाका मानिसले जस्तो सूचना नमाग्ने गरेको र लिखितभन्दा मौखिक रूपमा सूचना आदानप्रदान बढी हुने गरेको बताए ।
कार्यक्रममा सहभागी पत्रकारहरूले सरकारी कार्यालयका सूचना अधिकारीबाट समयमा र पर्याप्त सूचना पाउन कठिनाइ भएको गुनासो गरेका छन् ।
यस विषयमा प्रजिअ सुवेदीले ७ दिनभित्र सबै सरकारी कार्यालयले सूचना अधिकारी तोक्न र त्यसको जानकारी जिल्ला हुलाक कार्यालय प्रमुखलाई दिनुपर्ने प्रजिअ सुवेदीलेब बताए । उनले सूचना अधिकारीले पत्रकार र जनता दुवैलाई सूचना प्रवाहमा सहजता ल्याउनुपर्नेमा जोड दिए ।



