पाल्पा । पाल्पाको रैनादेवी छहरा कटौजेपानीमा मौलिक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। रैनादेवि छहरा गाउपालिकाको आयोजनामा भएको यस कार्यक्रमले लोप हुँदै गएको परम्परागत तीज संस्कृतिलाई संरक्षण गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रममा रैनादेवी छहराका आठैवटा वडाले भाग लिएका थिए। उनीहरूले परम्परागत लय र भाकामा तयार पारिएका गीतहरू मार्फत स्थानीय सरकारसँग विभिन्न माग र सुझावहरू प्रस्तुत गरेका थिए। जसमा जंगली जनावरको नियन्त्रण, बसाइँसराइ रोक्न, महिला हिंसा र बलात्कारजस्ता घटनामा गम्भीर बन्न, तथा अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने विषयहरू समावेश थिए।
कार्यक्रममा सहभागी महिला समूहहरूले रैनादेवी छहरामा गाउपालिकामा भएका विकास निर्माण, शिक्षा, स्वास्थ्य र गाउपालिकाका सरकारका कामहरूलाई पनि गीत मार्फत उजागर गरेका थिए। उनीहरूको प्रस्तुतिमा स्थानीय दिदीबहिनीहरू छमछम नाचेर दर्शकहरूलाई मनोरञ्जन दिलाएका थिए।कार्यक्रम रैनादेबी छहरा अध्यक्ष रुकमाङ्गत भट्टराईले तीज गीत प्रतियोगिताले स्थानीय संस्कृति संरक्षणमा योगदान पुग्ने बताए ।
उपाध्यक्ष युबराज थापाले तीज पर्वको शुभकामना दिँदै पछिल्ला वर्षहरूमा तीज गीतका नाममा छाडापन र संस्कृतिभन्दा बाहिरका विषयहरू हावी भएकोले मौलिकता जोगाउन यस्तो कार्यक्रमको आयोजना गरिएको बताए। उनले तीज पर्वलाई पुरानै लयमा फर्काउन रैनादेविछहराले एउटा अभियानको थालनी गरेको जानकारी दिए।
कार्यक्रममा वडा न ५ मुझुङ्ग प्रथम, वडा न ६ जुठापौवा दोस्रो र वडा न ८ सत्यवती तृतीय भएका छन्। विजेताहरूलाई क्रमशः २०,००० ,१५,०००र १०,००० रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
रैनादेवी छहराका अध्यक्ष रुकमाङ्गत भट्टराईको प्रमुख आतिथ्य र उपाध्यक्ष युवराज थापाको अध्यक्षता भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत निसा पान्डेले गरेकी थिइन् । कार्यक्रममा प्रशासकिय अधिकृत लेखा अधिकृत, कार्यपालिका सदस्य, आठै वडाका वडा अध्यक्षहरु, गाउपालिकाका कर्मचारी विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, आमा समूह, विद्यालयका प्रतिनिधि र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।



