पाल्पामा यो वर्ष २५५ जनामा डेङ्गु संक्रमण

तानसेन। पाल्पामा यो वर्ष २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जनवरीदेखि हालसम्म सो संख्यामा डेंगु संक्रमण फैलिएको हो। जसमध्ये सबैभन्दा धेरै साउन र भदौ महिनामा डेङ्गुका बिरामी बढ्दै गएको पाइएको छ ।

जिल्लाका रामपुर र पाल्पा अस्पतालसंगै युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा परीक्षण गराउने बिरामीको संख्या देरै देखिएको छ । संक्रमित हुनेमध्ये १८५ जना पाल्पा भित्रका रहेका छन् । यो बाहेक बाहिरी जिल्लाबाट उपचार गारउन आउनेमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

केही वर्ष अघिसम्म तराईका जिल्लामा मात्र देखिने डेङ्गु सङ्क्रमण पछिल्लो समय पाल्पाजस्ता पहाडी जिल्लाहरूमा बढी देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताए। डेङ्गु नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन हुँदा पनि संक्रमणमा कमी नआएको प्रमुख पोखरेलले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार पाल्पा लुम्बिनी प्रदेशमै डेङ्गुका बिरामी सबैभन्दा धेरै हुने जिल्ला भएको छ । जलवायु परिवर्तन र परीक्षणको दायरामा वृद्धि हुँदा संक्रमित बिरामीके संख्या बढेको हो । पछिल्लो तथ्यांक अनुसार रूपन्देही जिल्लामा ८६ जना, दाङ जिल्लामा ६८, गुल्मीमा ५३, बाँकेमा ३४ जना डेङ्गु सङ्क्रमित बिरामी छन् । यस्तै अर्घाखाँचीमा ३० जना, बर्दिया र प्युठानमा १२।१२ जना, रोल्पामा नौ र रुकुममा तीन जना डेङ्गु सङ्क्रमित बिरामी रहेका छन् ।

एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण हुने गर्दछ । यो समयमा पानी पर्ने समय भएका कारण लामखुट्टेको वृद्धि विकासमा टेवा पुग्ने हुँदा संक्रमण फैलिएको हो । संक्रमण नियन्त्रणमा लागि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत्‌ ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेपनि संक्रमण बढेको पाइएको छ।

डेंगु संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्छ ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।  जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् । पाल्पामा अघिल्लो वर्ष ४ सय ६४ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer