पाल्पामा स्क्रबटाइफस सङ्क्रमित बालिकाको मृत्यु

तानसेन । पाल्पामा स्क्रबटाइफसका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–१, की ११ वर्षकी बालिका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएकी बालिकाको उपचारकै प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला सदरमुकाम तानसेन ल्याउने क्रममा बाटौमै मृत्यु भएको हो ।

ज्वरो आउने र टाउको दुख्ने जस्ता देखापरेपछि रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि तानसेन ल्याउने क्रममा बालिकाको तीन दिनअघि बाटोमै मृत्यु भएको सूचना अधिकारी भट्टराईले बताए।

रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार स्क्रबटाइफस पोजेटिभ देखिएको र ज्वरो आउने, अक्सिजन र रक्तचापको मात्रा पनि घट्ने जस्ता समस्या देपख परेपछि  थप उपचारका लागि युनाइटेड मिसन अस्पतालमा रेफर गरिएकोमा बाटोमै ज्यान गएको जानकारी दिए
दुई साताअघि पनि मृतक बालिकालाई ज्वरो आउनेलगायतका समस्या देखिएपछि  उपचारपछि निको भएको बताइएको छ।
स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ । समयमै उपचार नगरे यसले गम्भीर रुप लिन सक्छ ।

स्क्रबटाइफसको सङ्क्रमण भएका मानिसमा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, खोकी, वान्ता लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, आँखाको गेडी रातो हुनेजस्ता लक्षण देखिन्छ । समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सो, आदिको संक्रमण र कहिलेकाहीँ बहुअङ्ग समस्या सिर्जना सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

पछिल्लो केही दिनयता पाल्पाका अस्पतालहरूमा स्क्रबटाइफस सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ । यो वर्ष मात्रै जिल्लामा २३८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया