पाल्पा । पाल्पाको तानसेन नगरपालिकामा स्थानीय तहको दोस्रो कार्यकाल चलिरहँदा महिला तथा दलित महिला जनप्रतिनिधिहरुले आफ्ना जिम्मेवारी सक्रियतापूर्ण गरिरहेका छन् । वडाभित्रका योजनाका अनुगमन तथा योजना छनौट, बजेटको बाँडफाँडमा उनीहरु सक्रिय छन् । यो सक्रिय भूमिकाले महिला तथा दलित महिला वडा सदस्यहरुले सहभागिता र राजनीतिक अधिकारको खोजी गर्न थालेको पाइन्छ । महिला तथा दलित महिला सदस्यका रुपमा दोस्रो कार्यकाल पुरा गर्ने तयारीमा जुटीरहेका महिला सदस्यहरु आगामी निर्वाचनमा समेत आफ्नो गतिलो उपस्थिति हुनुपर्ने चर्चा चलाउनुपर्ने माग गर्न थालेको देखिएको छ ।
तानसेन नगरपालिका ८ की विमला बौडेल दोस्रो कार्यकाल दलित महिला वडा सदस्यको रुपमा जिम्मेवारी बहन गर्नूभएको छ । पहिलो कार्यकाल बौडेल कार्यापालिका सदस्यको रुपमा जिम्मेवारी बहन गर्नुभएको थियो । दोस्रो कार्यकाल जनताबाट निर्वाचित हुनुभएपछि वडा सदस्यको जिम्मेवारी बहन गर्नूभयो । कार्यवाहक वडाध्यक्षको समेत जिम्मेवारी समालेको छु । यसले आगामी दिनमा नेतृत्व गर्न पाएमा गर्न सक्ने अनुभव भएको बौडेलको भनाई छ ।

वडाको योजना छनौट देखि विकास निर्माणका अनुगमन, वडा देखि टोल विकास समितिका बैठक, महिला समूह, कृषि तथा विद्यालय, स्वास्थ्य अभियानमा नियमित रुपमा जोडिएर काम गरेको अनुभव छ । दुई कार्यकाल जनप्रतिनिधिका रुपमा काम गरेपछि अनुभव राम्रो भएको छ । यो अनुभवले अवसर पाएको खण्डमा वडाको नेतृत्व समाल्न सक्ने भएको बौडेलले बताउनुभयो ।
तानसेन नगरपालिका ६ की सुस्मिता गहतराज दलित महिला वडा सदस्य हुन । पहिलले वडामा निर्वाचित भएपछि सरकारी काम कारबाही बारेमा आफुलाई धेरै कुरा जानकारी नभएको बताउनुभयोे । अहिले विकास निर्माण कार्य भइरहेको ठाउँमा योजना अनुगमन गर्ने काम गरिहेको गहतराजले बताउनुभयो ।
गहतराजले कार्यवाहक अध्यक्ष समेत सम्माल्नु भएको छ । वडाध्यक्षको जिम्मेवारी सम्माल्न निकै गाह्रो हुने अनुभव उहाँसँग छ । कहिलेकाहि त निकै जटिल समस्याहरु वडामा आउने गर्छ । वडाध्यक्षको भूमिका निभ्याउन अलि दुःख हुन्छ गहतराजको भनाई छ ।
तानसेन नगरपालिका १४ की मिना परियार पहिलोपटक दलित महिला सदस्यका रुपमा निर्वाचित हुनुभयो । वडा सदस्यका रुपमा निर्वाचित भएपछि के काम गर्ने र कसरी काम गर्ने भन्ने चिन्ता थियो । जनताका इच्छा आकांक्षा पुरा कसरी गर्ने भन्ने मनमा कुरा खेलिरहेको थियो । तर, निरन्तर काम गर्न पाउँदा आफु खुसी रहेको परियारले बताउनुभयो ।

दलित समुदायको शसक्तिकरणमा परियारको सक्रियतामा कमी छैन । दलितहरुलाई आर्थिक, सामाजिक शसक्तिकरणका क्षेत्र परियारको योगदान छ । नौमति बाजा खरिद गरी परम्परागत संस्कृति संरक्षण गरिएको छ । आरन पेशा लोप हुन थालेको बेला संरक्षणका लागि कार्यक्रम गरिएको परियारको भनाई छ ।
लक्षित वर्गका कार्यक्रम देखि वडामा हुने विकास निर्माण योजनाको अनुगमन, योजना छनौटमा पनि सक्रिय सहभागी हुनुहुन्छ । वडा तथा नगरपालिकाको बैठक आफु नियमित उपस्थित हुनुपर्छ भन्ने मान्यता हो ।
दलित महिलाको अधिकार क्षेत्र नभएको चिन्तित हुनुहुन्छ । सरकारले दलित महिलालाई वडामा प्रतिनिधित्व गर्ने कानून बनाएपनि अधिकार सम्पन्न बनाउन नचाहेको देखियो । यसले नागरिकका हक अधिकार सम्पन्न बनाउन खोजेको देखिएन । दलित महिला वडा सदस्यको अधिकार क्षेत्रको व्यवस्था हुनुपर्ने उहाँको माग छ ।
दलित महिला केन्द्र नेपाल पाल्पाकी अधिकृत निर्मला शाहीका अनुसार स्थानीय तहका कार्यसम्पादन प्रभावकारी बनाउने र महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्ने प्रयोजनका लागि तानसेन नगरपालिका र दलित महिला केन्द्रको आयोजनामा प्रभावकारी र समावेशी स्थानीय सरकार सवलीकरण कार्यक्रम सञ्चालन भएको बताउनुभयो ।
तानसेन नगरपालिकाभित्र १४ वडा छन् । तानसेन नगरपालिकाभित्रका महिला तथा दलित महिलाहरु क्षमता विकास सन्दर्भ परियोजना केन्द्रीत रहेको छ । महिला तथा दलित महिलाहरु सामाजिक तथा समुदायका रुपान्तरण अभियान जोडिएर काम गरिरहनु भएको छ । यसले आगामी निर्वाचनमा महिलाको संख्या बढी हुने विश्वास रहेको शाहीको भनाई छ ।
तानसेन नगरपालिकाकी उप प्रमुख प्रतिक्षा गाहा सिंजालीले सुरु सुरुका बैठकहरुमा महिला तथा दलित महिला सदस्यहरु आफना विचार राख्न हिचकिच माने पनि अहिले आफना विचारहरु निर्धक्क राख्न थालेका छन् । उनीहरुले आफुनो समुदाय र नागरिक समस्या समधान गर्न तत्पर हरेको देखिन्छ । योजना कसरी पार्न सकिन्छ, योजना पारिदिन परयो, नागरिकले दुख पाए भनेर छलफलमा सहभागिता देखाएको छन् । तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले महिला जनप्रतिनिधिहरूको क्षमता विकास तथा अधिकार सुनिश्चितताका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
तानसेन नगरपालिकाका दलित महिला जनप्रतिनिधिहरूले आफ्नो कामबाट अनुभव र आत्मविश्वास बढेको छ । तर, आफ्नो अधिकार क्षेत्र स्पष्ट नहुनु र कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दा समेत जटिलताहरू आउनुले उनीहरूले नीतिगत र व्यवहारिक दुवै तहमा थप सहयोगको आवश्यकता रहेकोले तानसेन नगरपालिकाभित्रका महिला जनप्रतिनिधिहरुको माग अनुसार अधिकार भूमिका र जिम्मेवारी तथा वडाअध्यक्ष अधिकार, भूमिका, नेतृत्व विकासका क्षेत्रमा मेटरिङ कार्यक्रम मार्फत सहयोग पुगेको उनीहरुको भनाई छ ।
महिला जनप्रतिनिधिहरुलाई मेटरिङ कार्यक्रम मार्फत नीतिगत र व्यवहारिक दुवै खाले क्षमता विकासका काम भइरहेको शाहीको भनाई छ ।
स्थानीय तहको कार्यसम्पादन प्रभावकारी बनाउन र समावेशी विकासलाई अगाडि बढाउन दलित महिला जनप्रतिनिधिहरूको अधिकार क्षेत्रलाई स्पष्ट र शक्तिशाली बनाउनु आवश्यक देखिन्छ । उनीहरूको यो सक्रियताले आगामी दिनमा स्थानीय राजनीतिमा महिलाको नेतृत्वदायी भूमिका अझ फराकिलो हुने आशा छ ।





















