पाल्पा-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पाल्पामा विशाल ‘एकता सन्देश सभा गर्ने’ आयोजना गर्ने भएको छ।
यही मंसिर २३ गते पाल्पाको सदरमुकाम तानसेनमा हुने उक्त कार्यक्रमको तयारी जिल्ला कमिटीले पूरा गरेको जनाएको छ।
पार्टीको ‘एकता सन्देश’ देशव्यापी अभियान अन्तर्गत पाल्पामा हुन लागेको यो सभालाई नेकपाका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
जिल्ला कमिटीले दिएको जानकारीअनुसार नेताहरूले देशको वर्तमान राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलनको आवश्यकता र नयाँ पार्टीको भावी कार्यदिशाबारे स्पष्ट पार्नेछन्।
नेकपाका नेता राजेन्द्र विश्वकर्माले भन्नुहुन्छ, “हामीले एकता सन्देश सभालाई भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ। पाल्पा जिल्लाबाट कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउने नयाँ सन्देश दिने हाम्रो लक्ष्य छ।”
पार्टीले देशैभरि गरिरहेको यो अभियानको मुख्य उद्देश्य छरिएर रहेका कम्युनिस्ट शक्तिहरूलाई एकै ठाउँमा ल्याएर सशक्त वैकल्पिक शक्ति निर्माण गर्नु रहेको बताइएको छ।
पाल्पाको सभालाई सफल बनाउन जिल्लाका दशवटै पालिकाका कार्यकर्ताहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको नेकपाका नेता अशोक कुमार शाहीले बताउनुभयो ।





















